प्रायः नेपाली फिल्मको प्रिमियर एउटै उद्देश्यका लागि हुन्छ । त्यो हो, फिल्मकर्मीबाट तारिफ सुन्न । र, उनीहरु पनि कुनै कमजोरी नै नभए झैँ गरी मुक्तकण्ठले तारिफ गरिदिन्छन् । त्यही सुनेर फिल्म हेर्न गएका दर्शक भने निराश हुँदै हलबाट बाहिरिन्छन् । यसैले अचेल प्रिमियरमा हुने फिल्मकर्मीहरुको तारिफलाई दर्शकले झूठो मान्ने गरेका छन् । र, त्यसमा कसैले पनि विश्वास गर्दैनन् ।
फिल्मकर्मीहरुको झूठो प्रशंसाका कारण प्रिमियरको औचित्यमाथि नै प्रश्न उठिरहेको समयमा यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘के घर के डेरा : घर नं २’का निर्माताले भने फरक अभ्यास गरेका छन् । बुधबार काठमाडौंमा आयोजित प्रिमियरमा फिल्मकर्मीभन्दा चौब्बर बढी दर्शक थिए । सडकबाट छनोट गरिएका १८० जना दर्शकलाई प्रिमियरमा सहभागी गराइएको थियो ।
पहिलो पटक नेपाली फिल्मको प्रिमियरमा सहभागी भएकाले दर्शकहरु खुसी देखिन्थे । फिल्मका कलाकारहरुसँग फोटो खिच्न पनि उनीहरुबीच हानाथाप चलेको थियो । प्रिमियरमा फिल्म हेरेपछि अधिकांशले कथावस्तु, कलाकारको अभिनय र निर्देशन पक्षको प्रशंसामा शब्द खर्चिए । घरबेटी र डेरावाल मात्रै नभइ आम नागरिकको यथार्थ कथामा फिल्म बनेको प्रतिक्रिया उनीहरुको थियो ।
प्रिमियरमा हरिवंश आचार्य, मनीषा कोइराला, स्वस्तिमा खड्का, अञ्जु पन्त जस्ता सेलिब्रेटीहरुको पनि उपस्थिति रहेको थियो । फिल्म हेरेपछि हरिवंशले प्राविधिक पक्षको खुलेर तारिफ गरे । ‘टेक्निकल्ली फिल्म एकदमै राम्रो छ । कलाकारहरूको अभिनय गजब छ । मध्यमवर्गीय जीवन र आर्थिक संघर्षलाई निकै प्रभावकारी रूपमा देखाइएको छ । समग्रमा फिल्म राम्रो छ,’ उनले भने ।
अभिनेत्री मनीषा कोइरालाले फिल्मको कथाले आफ्नो मनमा गहिरो छाप छाडेको बताइन् । ‘एकदमै मर्मस्पर्शी कथा छ । कथाको पीडा आफूले नभोगे पनि त्यो अनुभूति गर्न सकिन्छ,’ उनले भनिन् । उनले फेसबुकमा पनि एक पोस्ट गर्दै फिल्मले आफूलाई गहिरो रूपमा छोएको बताएकी छन् । नेपाली फिल्ममा नयाँ शैलीमा कथा भनिएको देख्दा प्रगतिशील महसुस भैरहेको उनको भनाइ छ ।
स्वास्थ्य लाभपछि पहिलो पटक प्रिमियरमा पुगेकी स्वस्तिमा खड्काले ‘के घर के डेरा २’ मनछुने फिल्म रहेको बताइन् । सहज रूपमा हेर्न मिल्ने र भावनात्मक रूपमा जोडिन सकिने फिल्म बनेको उनको भनाइ छ । त्यस्तै, गायिका अञ्जु पन्तले फिल्ममा देखाइएको सम्बन्धको महत्त्व र दुःख सामना गर्ने तरिकाको प्रशंसा गर्दै सम्बन्ध जोगाउने सन्देश एकदमै मन परेको उनले बताइन् ।
फिल्मका निर्देशक दीपेन्द्र के. खनालले फिल्मको वास्तविक प्रतिक्रिया सुन्न प्रिमियरमा सर्वसाधारण दर्शकलाई समावेश गरिएको जानकारी दिए । ‘हामी चाहन्छौं फिल्म राम्रो लागे अरूलाई भन्नुहोस्, नराम्रो लागे सुधार गर्न सुझाउनुहोस्,’ उनले भने, ‘हामीले प्रिमियरमा फरक अभ्यास गरेका छौँ । जस्तो फिल्म छ, त्यस्तै रिभ्यू आओस् भनेर दर्शकहरुलाई प्रिमियरमा फिल्म देखाएका हौँ ।’
काठमाडौंमा घर हुने र डेरामा बस्ने पात्रहरुको संघर्षको कथामा आधारित भएर बनेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली लगायतका कलाकारहरुको अभिनय रहेको छ । कृष्णबहादुर थापाको डीओपी रहेको फिल्मको निर्माताहरुमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।