मंगलबार साँझ फिल्म ‘महाभोज’का निर्देशक र कलाकारहरुको एउटा पोस्टले सनसनी नै मच्चायो । कलाकारहरु आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ र निर्देशक दिनेश राउतले ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने वाक्य फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेका थिए । यसपछि धेरैले टिमभित्र ठूलै तनाव उत्पन्न भएको हुनसक्ने अनुमान लगाए ।
तर, उनीहरुको पोस्ट फिल्मका कुनै सदस्यप्रति लक्षित नभइ प्रचार रणनीतिको एउटा हिस्सा हो । ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने वाक्य भित्तामा लेखिएको दृश्य टिजरमै समावेश छ । त्यसैलाई निर्देशकदेखि कलाकारसम्मले फेसबुक र इन्स्टाग्राममा लेख्दै दर्शकमा कौतुहलता सिर्जना गरेका हुन् । उक्त वाक्यांशकै वरिपरि फिल्मको कथा घुमेकाले पनि निर्माण पक्षले त्यो रणनीति अपनाएको हो ।
‘महाभोज’ सहकारी ठगी प्रकरणको कथामा आधारित भएर बनेको फिल्म हो । यो विषय अहिले देशका लागि नै टाउको दुखाइ बनेको छ । केही सहकारी ठगी प्रकरण दबाउन राजनीतिक तहबाट समेत प्रयास भइरहेको परिदृश्यमा ‘महाभोज’ले ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने वाक्यलाई नारा बनाउँदै सत्यलाई उजागर गर्न खोजेको देखिन्छ । अब त्यो सत्य के हो, फिल्म हेरेपछि नै थाहा हुनेछ ।
आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, वीरेन्द्र सिंह कुशवाह लगायतको पनि अभिनय छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हिमाल कडरिया हुन् । यसमा विकास सुवेदीको लेखन तथा राजेश श्रेष्ठको डीओपी छ ।