कलाकारको बलियो ‘लाइनअप’ रहेको फिल्म ‘के घर के डेराः घर नं २’ यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ । यसमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी जस्ता स्थापित कलाकार छन् भने ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के. खनालको निर्देशन तथा उपन्यासकार बुद्धि सागरको लेखन छ । ती तीन कारणले फिल्मप्रति दर्शकमा उच्च अपेक्षा छ ।
घरेलु बक्स अफिसमा सुखद् व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको फिल्मको मल्टीप्लेक्सहरुमा अग्रिम टिकट बुकिङ खुला भएको छ । फिल्मले राम्रो संख्यामा शो पाएको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले पहिलो दिनका लागि फिल्मलाई काठमाडौं उपत्यकामा २५ शो र उपत्यका बाहिर २२ शो गरी ४७ शो बाँडेको छ । बुकिङ राम्रो भएको खण्डमा शोमा थप वृद्धि हुन सक्नेछ ।
त्यस्तै, दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआइले चार आउटलेटमा फिल्मलाई १५ शो, वान सिनेमाजले दुई आउटलेटमा ९ शो, बिग मुभिजले ५ शो, एफक्युबले ४ शो, कीर्तिपुर सिनेप्लेक्सले २ शो, बिएसआर मुभिजले ४ शो उपलब्ध गराएका छन् । काठमाडौं र मोफसलका अझै थुप्रै हलमा बुकिङ खुल्न बाँकी रहेकाले बिहीबारसम्म फिल्मले देशभर करिब २ सय शो पाउन सक्ने देखिन्छ ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा यतिबेला निर्माण टिमले फरक शैलीमा प्रचारप्रसार गरिरहेको छ । निश्चलदेखि केकीसम्मले काठमाडौंका विभिन्न सार्वजनिक स्थलमा दर्शकसँग भलाकुसारी गर्दै फिल्म हेर्न निम्तो दिएका छन् । यो शैलीमा नेपाली फिल्मको प्रचार पहिलो पटक भएको हो । यसले फिल्मप्रति दर्शकमा कौतुहलता सिर्जना गर्न ठूलो भूमिका खेल्ने विश्वास निर्माण टिमको छ ।
काठमाडौंमा घर हुने र डेरामा बस्ने पात्रहरुको संघर्षको कथामा आधारित भएर बनेको फिल्ममा उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतको पनि अभिनय रहेको छ । कृष्णबहादुर थापाको डीओपी रहेको फिल्मको कार्यकारी निर्मातामा युवराज कार्की छन् भने निर्माताहरु नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् ।