मिति : २०८२ वैशाख ३१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इन्डोर स्टुडियो निर्माणको उद्घोष गर्दै प्रधानमन्त्रीले भने- ‘यो एउटा क्रान्ति हो’

फिल्मीखबर, काठमाडौं, 2025/05/13

flim studio

 

डेढ दशकभन्दा लामो समयदेखि सरकारको नीति तथा कार्यक्रम र बजेटमा मात्र सीमित भएको फिल्म छायांकन गर्ने अत्याधुनिक इन्डोर स्टुडियो अब भने निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच बनेपा नगरपालिकास्थित वडा नं. १० र १३ मा बन्ने स्टुडियोको निर्माण आरम्भ उद्घोष (शिलान्यास) गरेका छन् ।
 
‘सिनेपाः’ नाम राखिएको स्टुडियोको निर्माण घोषणा गर्दै प्रधानमन्त्री ओलीले कार्यक्रममा भने, ‘यो अत्याधुनिक स्टुडियोले नेपाली फिल्म क्षेत्रलाई बदल्छ भन्ने विश्वास लिएको छु । यो एउटा क्रान्ति हो । फिल्म क्षेत्रको युग परिवर्तन हो यो । यसमार्फत् हामी फिल्म क्षेत्रको नयाँ युगमा प्रवेश गरेका छौं ।’ उनले ‘सिनेपाः’ फिल्म क्षेत्रको मात्र नभएर सरकारको पनि सरोकारको विषय रहेको बताए ।

उनले स्टुडियो निर्माण गर्न ढिलाइ भएकोमा आफ्नो पनि कमजोरी रहेको स्वीकार गरे । ‘स्टुडियो बनाउन यति ढिला भएकोमा म आफ्नो पनि कमजोरी महसुस गर्छु । यति ढिलो हुनै नपर्ने हो,’ उनले अगाडि भने, ‘यो स्टुडियो बहुवर्षीय आयोजना हो । यसै वर्ष सकिँदैन । अर्को बजेटमा फेरि आउला । तर, अब स्टुडियो बन्छ । यसका लागि सरकारसँग जुन माग गरिएको छ, त्यो पूरा हुन्छ ।’

४२ रोपनी क्षेत्रफलमा बन्ने स्टुडियोका लागि सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र विकास बोर्डबाट गत माघमा बोलपत्र आह्वान भएर बैशाखमा ठेक्का स्वीकृत भएको थियो । यू एन्ड एस–एनएस–रेग्मी जेभी माझी फेडा काभ्रे कम्पनीले स्टुडियो निर्माणको ठेक्का पाएको छ । आधुनिक छायांकन प्रविधि र सुविधासहितको वातावरण उपलब्ध हुने स्टुडियोको लागत ३९ करोड रूपैयाँ छ ।