सन्तोष कुमार आत्रेयको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘शिवांश’को छायांकन सुरु गरिएको छ । मंगलबार बिहान पोखराको लामाचौरस्थित अकला मन्दिरमा स्क्रिप्ट र क्यामरा पूजा गरेपछि दृश्य खिच्न थालिएको हो । फिल्मलाई पोखराका विभिन्न स्थानमा करिब एक महिना खिचिने निर्माता अञ्जान केसीले जानकारी दिए ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुतिमा बन्न लागेको फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिँदैछन् भने विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सवीर चुरौटे, उदय सुब्बा लगायतको पनि अभिनय रहनेछ ।
फिल्मको कथा अञ्जान केसीले लेखेका हुन् । निर्माता पनि उनी स्वयं हुन् । फिल्मको सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । पटकथा बारत लिम्बूको हो । आगामी असोज २४ गतेलाई प्रदर्शन मिति घोषणा भइसकेको फिल्मले शक्ति संघर्षको कथा भन्ने जनाइएको छ ।
सरद महतोले छायांकन गरिरहेको फिल्ममा विप्लव प्रतीक र राजनराज सिवाकोटीको गीत रचना, न्ह्यू बज्राचार्य र राजनराज सिवाकोटीको संगीत, मिलन श्रेष्ठको द्वन्द्व र विक्रम चौहानको कोरियोग्राफी रहनेछ । फिल्मका कार्यकारी निर्माता शम्भु थापा हुन् ।