निर्देशक शोभित बस्नेतले दुई चरणमा गरेर आफ्नो नयाँ फिल्म ‘पीआर’को सम्पूर्ण छायांकन सकाएका छन् । नेपालमा १० दिन छायांकन गरेपछि सोमबार फिल्म प्याकअप भएको हो । नेपालअघि गत फागुनमा १८ दिन अष्ट्रेलियामा फिल्म खिचिएको थियो । नेपालमा धम्पुस, पोखरा र चित्लाङमा फिल्मको छायांकन गरिएको हो ।
निर्देशक बस्नेतले कथाको मागअनुसार अष्ट्रेलिया र नेपालमा फिल्म खिचिएको जानकारी दिए । ‘कथा नै अष्ट्रेलिया र नेपालसँग सम्बन्धित छ । यसैले छायांकन पनि दुवै देशमा गरेका हौं,’ उनले भने, ‘कलाकारहरुले राम्रो काम गर्नुभएको छ । त्यसैले फिल्म एकदमै राम्रो बनेको छ । यसमा म ढुक्क छु ।’
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा नीर शाह, गौरी मल्ल, दिक्पाल कार्की, रविन्द्र खड्का, उत्तम केसी, आर.ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, विमला खत्री, आश्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, नवीन घायल लगायतको अभिनय छ ।
विदेशमा रहेका नेपालीहरुले पीआरका लागि गर्ने संघर्ष र नेपालबाट अभिभावकहरुको आशा र भरोसाको कथामा आधारित भएर बनेको फिल्ममा प्रदीप दाहाल, लक्ष्मण सापकोटा र रन्जित शाह निर्मातामा छन् । यसमा सौरभ मानन्धर (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)को छायांकन, मानस राज र भीम बिसीको संगीत, रामजी लामिछानेको नृत्य तथा गणेश बुढाथोकीको लेखन रहेको छ ।