नेपाली फिल्म क्षेत्रमा मौलिक फिल्मको भाष्य गाउँमा मात्र आधारित हुनुपर्छ भन्ने छ । गाउँबाहेकको कथामा बनेका फिल्मलाई त्यो कोटीमा राखिँदैन । तर, अभिनेता खगेन्द्र लामिछानेलाई गाउँको कथा मात्र मौलिक होइन भन्ने लाग्छ । सहरका कथा पनि मौलिक हुने उनको बुझाइ छ । यसैले उनी आफ्नो नयाँ फिल्म ‘के घर के डेरा : घर नम्बर २’लाई सहरको मौलिक कथा भन्न रुचाउँछन् ।
हालै पत्रकारसँगको अन्तरक्रियामा उनले भने, ‘नेपालीका कथा सबै मौलिक हुन्, चाहे त्यो गाउँको कथा होस् वा सहरको । गाउँ आएर सहरमा संघर्ष गर्ने तर प्रत्यक्ष कनेक्सन गाउँसँग भएका कथा मात्रै मौलिक कथा हुन् भन्ने भाष्य गलत छ । यो तोडिनुपर्छ ।’
सहरमा धनी मान्छे मात्रै बस्छन् भन्ने गलत बुझाइ रहेको पनि उनले बताए । भन्छन्, ‘सहरमा गाउँको भन्दा चरम गरिबी छ । सहरी गरिबी झन् डरलाग्दो हुन्छ । काठमाडौंमा बिजुलीको बिल तिर्न नसक्ने घरबेटी पनि मैले देखेको छु । त्यसैले सहरका कथा पनि हाम्रै हुन् र मौलिक हुन् ।’
खगेन्द्रको जस्तै धारणा फिल्मका निर्देशक दीपेन्द्र के खनालको पनि छ । उनी भन्छन्, ‘गाउँमा सर्भाइभ गर्न सहज छ । सबैले सबैलाई चिनेका हुन्छन् । सहयोग गर्छन् । तर, सहरमा कसैले कसैलाई चिन्दैन । घर टाँसिए पनि मन टाँसिएको हुन्न । त्यसैले मेरा अधिकांश फिल्म सहरका कथामा हुन्छन् । मलाई सहरका कथा भन्न मन लाग्छ । यी सबै कथा मौलिक हुन् । मौलिक फिल्म हुन् ।
‘के घर के डेरा २’को टिजर सार्वजनिक भएपछि धेरैले ‘पशुपति प्रसाद’को झल्को आएको प्रतिक्रिया दिएका छन् । त्यसको पछाडि केही कारण छन् । दुवै फिल्मका निर्देशक एउटै हुनु, दुवैमा खगेन्द्र लामिछानेको अभिनय रहनु र ‘के घर के डेरा २’को केही दृश्य पशुपति क्षेत्रमा खिचिएकाले दर्शकलाई त्यो महसुस भएको छ । यसलाई निर्देशक खनाल स्वभाविक रुपमा लिन्छन् ।
उनी भन्छन्, ‘फिल्ममा आर्यघाट जोडिएकाले दर्शकलाई त्यो लागेको हुनसक्छ । तर, आर्यघाटतिर फिल्म धेरै जाँदैन । फिल्म एउटा घरको छतभित्र नै हुन्छ । यद्यपि, दर्शकलाई ‘पशुपति प्रसाद’ जस्तो लाग्यो भन्नु स्वभाविक हो । किनकि, यसमा पनि पात्रहरुले सीमित परिधिभित्र गर्ने संघर्षको कथा थियो । ‘के घर के डेरा २’मा पनि त्यही छ । तर, ‘पशुपति प्रसाद’लाई मानक बनाएर यस्तै फिल्म बनाउँछु भनेर बनाएको होइन ।’
यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा खगेन्द्रसहित निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतको अभिनय छ । कृष्णबहादुर थापाको छायांकन रहेको फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।