‘कबड्डी’ जोडी दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘रिमै’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार बुद्ध जयन्तीको अवसरमा तीनवटा पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २७ गतेबाट फिल्म विश्वव्यापी प्रदर्शनमा आउने जानकारी गराइएको हो । जितिया पर्व र संविधान दिवसको विदालाई लक्षित गरेर ‘रिमै’को प्रदर्शन मिति घोषणा गरिएको देखिन्छ ।
सार्वजनिक तीनमध्ये एक पोस्टरमा दयाहाङ र रिश्मा चित्रित छन् । विभिन्न समुदायमा आस्थाको प्रतिक मानिने सेतो खादा हातमा लिएकी रिश्मा निराश भावमा देखिएकी छन् । दयाहाङको भने निधारमा सेतो टीका छ । र, उनको आडैमा झोला देख्न सकिन्छ । यो पोस्टरले दुईवटा कुरा स्पष्ट पार्छ । पहिलो, दयाहाङ र रिश्मा प्रेममा छन् । दोस्रो, दयाहाङ रोजगारीका लागि निस्किएका छन् ।
दोस्रो पोस्टरमा दयाहाङ र रिश्मासहित गौमाया गुरुङ चित्रित छिन् । उनीहरुको अनुहारको भावले निराशा, आशा र खुसीलाई दर्शाउँछ । तेस्रो पोस्टरमा भने दयाहाङ, रिश्मा र गौमायासहित अर्पण थापा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायत प्रस्तुत छन् । यसमा दयाहाङलाई निराश मुद्रामा देख्न सकिन्छ । तीनवटा पोस्टरले फिल्मप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्मातामा छ ।
खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको फिल्ममा कविता आले मगर, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ लगायतको अभिनय रहेको छ । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । यसमा वीरवल घले कार्यकारी निर्माता तथा टीका गुरुङ, जितयात्री गुरुङ र दुन बहादुर घले निर्मातामा रहेका छन् ।