अभिनेत्री उषा पौडेल विवाह बन्धनमा बाँधिएकी छन् । अभिनेता राहुल केसीसँग उनले आइतबार लगनगाँठो कसेकी हुन् । संयुक्त राज्य अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको ग्लेन आर्मस्थित एक मन्दिरमा उनीहरूले हिन्दू परम्पराअनुसार विवाह गरेका हुन् । विवाह समारोहमा दुई पक्षका परिवारसहित अमेरिकामा बस्दै आएका उनीहरू निकट फिल्मकर्मीहरूको उपस्थिति रहेको थियो ।
सामाजिक परम्पराअनुसार विवाह गर्नुअघि उषा र राहुलले गत २८ अप्रिल अर्थात् बैशाख १५ गते स्थानीय अदालतमा कोर्ट म्यारिज गरेका थिए । लामो समयदेखि अमेरिकामा बस्दै आइरहेका उनीहरू दुवैको यो दोस्रो विवाह हो । आइतबार साँझ नै उनीहरूले विवाहको पार्टी पनि दिइसकेका छन् । अहिले यो जोडीलाई सामाजिक सञ्जालमा फिल्मकर्मीहरूबाट बधाईको ओइरो लागेको छ ।
उषा कुनै समयकी चर्चित अभिनेत्री हुन् । ‘कर्म’बाट फिल्ममा डेब्यु गरेकी उनलाई ‘मुनामदन’ले दर्शकमाझ चिनाएको थियो । उनले ‘दैव’, ‘क्रोध’, ‘प्यारी बहिनी’ लगायत तीन दर्जन बढी नेपाली फिल्मसहित केही भारतीय सिरियलमा पनि अभिनय गरेकी छन् । राहुलले भने ‘नागरिक’, ‘किसान’ जस्ता फिल्ममा काम गरेका छन् । उनी इनास अमेरिका नेशनल कमिटीका अध्यक्ष समेत हुन् ।