मिति : २०८२ वैशाख २७, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतमा ‘जार’को माग बढेपछि हलले बढाए शो

फिल्मीखबर, काठमाडौं, 2025/05/10

jaar movie

 

शुक्रबारबाट प्रदर्शनमा आएको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’ले नेपालमा अपेक्षित व्यापार गर्न सकेको छैन । पहिलो दिन फिल्मको देशव्यापी अकुपेन्सी १० प्रतिशत पनि भएन । शनिबार विदामा भने अकुपेन्सी दर केही वृद्धि भएको छ । व्यापार कमजोर भए पनि फिल्मलाई दर्शकीय प्रतिक्रिया राम्रो मिलेको छ । प्रायःले अभिनय, संगीत, छायांकन जस्ता पक्ष रुचाएका छन् ।

यो फिल्म नेपालसँगै शुक्रबारबाट भारतको उत्तरपूर्वी राज्यमा पनि प्रदर्शनमा आएको छ । पहिलो चरण अन्तर्गत सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा फिल्मलाई प्रदर्शन गरिएको हो । यी सहरमा भने फिल्मको राम्रो माग देखिएको छ । पहिलो दिन फिल्म हेर्ने दर्शक उल्लेख्य मात्रामा देखिएपछि त्यहाँका अधिकांश हलहरुले शोमा बढोत्तरी गरेका छन् ।

सिलिगुडीस्थित सिटी सेन्टरमा अवस्थित आइनक्स हलले प्रदर्शनको पहिलो दिन नै शो बढाएको कार्यकारी निर्माता ज्योती क्षेत्रीले बताइन् । उनले भनिन्, ‘हाल प्रदर्शनमा आएका सबै सहरमा फिल्मको उच्च माग देखिएको छ र सम्बन्धित हलहरूले शो थपको लागि सम्पर्क गरिरहनुभएको छ । ‘जार’प्रति दर्शकले देखाउनु भएको प्रेमले उत्साहित छौं ।’

अब दोस्रो चरणमा फिल्मलाई नेपाली भाषीहरूको बाहुल्यता रहेका सहरहरू मिरिक, आसाम, देहरादुन, धर्मशाला, दिल्ली, बैङ्गलोर, कोलकाता, हैदरावाद र गोरखपुरमा प्रदर्शन गर्ने तयारी भइरहेको निर्मात्री क्षेत्रीले जानकारी दिइन् । उनका अनुसार यी सहरमा केही हप्ताभित्र फिल्म प्रदर्शन हुनेछ ।

‘जार’ प्रदर्शनमा आएसँगै निर्देशकदेखि कलाकारसम्म काठमाडौंका हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । शुक्रबार ठमेलस्थित छायाँ सेन्टर पुगेका निर्देशक फुर्वा छिरिङ लामालाई एकजना दर्शकले उपन्यास उपहार दिएका थिए । साहित्यकार इन्द्रबहादुर राईको कथालाई उत्कृष्ट तरिकाले दृश्यभाषामा उतार्न सफल भएकोमा बधाई दिँदै ती दर्शकले नेपाली समाजको ऐतिहासिक कथा समेटिएका दुई उपन्यास उपहार दिएका हुन् ।

फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको मुख्य भूमिका छ । अखिलेश राईको सम्पादन रहेको फिल्मको कार्यकारी निर्मातामा त्रीलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । २२५ वर्षअघिको कथामा बनेको ‘जार’मा सरवानन इलावार्सुको छायांकन तथा झुमा लिम्बूको संगीत छ ।