मिति : २०८२ वैशाख २७, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ऊनको स्वीटर’को उत्साहप्रद सुरुवात, दर्शकले माग गरे सिक्वेल

फिल्मीखबर, काठमाडौं, 2025/05/10

bipin karki and miruna magar

 

बैशाख महिना सुरु भएयता नेपाली फिल्मको व्यापार उदेकलाग्दो बनेको थियो । नाम चलेका कलाकार र समीक्षात्मक रुपमा अब्बल ठहरिएका फिल्मले समेत बक्स अफिस चलायमान बनाउन सकेनन् । जसले गर्दा फिल्म क्षेत्रमै निराशा छाएको थियो । तर, शुक्रबारबाट प्रदर्शन भएको ‘ऊनको स्वीटर’ले भने आशाको किरण छरेको छ । धेरैपछि हलमा दर्शकको राम्रो चाप देखिएको छ ।

गीतका कारण प्रदर्शन अगावैदेखि चर्चामा रहेको यो फिल्मले पहिलो दिन नै उत्साहजनक अकुपेन्सी हासिल गर्‍यो । शुक्रबार फिल्मको देशव्यापी अकुपेन्सी ६० प्रतिशत हाराहारी थियो । यो बैशाख महिनाकै उच्च अकुपेन्सी हो । काठमाडौं उपत्यकादेखि पूर्व–पश्चिमका हलहरुमा प्राप्त धेरै शोमा शुक्रबार बिहानदेखि साँझ ९-१० बजेसम्म दर्शकको उपस्थिति उत्साहप्रद देखिएको थियो ।

पहिलो दिनको अकुपेन्सीलाई मध्यनजर गरेर देशभरका कतिपय हलहरुले शनिबारका लागि शो सङ्ख्या बढाएका छन् । जसले गर्दा फिल्मको देशव्यापी शो झन्डै तीन सय पुगेको छ । वितरक गोविन्द शाहीका अनुसार शनिबार बिहानैदेखि देशभर फिल्म हाउसफुल भइरहेको छ । टिकट बुकिङको अवस्था हेर्दा शनिबार फिल्मको कमाइ आक्रामक हुने निश्चित देखिएको उनले बताए ।

फिल्म प्रदर्शनमा आएसँगै निर्देशक नवीन चौहानदेखि मुख्य कलाकारहरु विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू र एलेक्स पारसले हल-हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । शुक्रबार फिल्मको टिम हल भ्रमणमा रहँदा दर्शकहरुले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । कसैले सिक्वेलको माग गरेका थिए भने कतिले अहिलेसम्मकै राम्रो लभस्टोरी फिल्म रहेको बताएका थिए ।

निर्देशक चौहान स्वयंको लेखन रहेको फिल्ममा विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरे लगायतको पनि अभिनय छ । काफ्ले युवक र गुरुङसेनीबीचको प्रेमकथालाई फिल्ममा सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । फिल्ममा अभिनय, संगीत, छायांकनजस्ता पक्ष निकै सशक्त छ । यसैले फिल्म घरेलु बक्स अफिसमा लामो रेसको घोडा बन्न सक्ने देखिन्छ ।