नेपाली फिल्मको एउटा कालखण्डमा एकछत्र राज गरेका अभिनेता राजेश हमाल ८ वर्षपछि ठूलो पर्दामा देखिँदैछन् । आगामी ९ जेठमा प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहा अवतार’बाट उनले अभिनयमा पुनरागमन गरेका हुन् । यसमा उनी एक्सन अवतारमा प्रस्तुत छन् । बिहीबार सावजनिक भएको ट्रेलर हेर्दा उनी अन्यायविरूद्ध लड्ने पात्रको भूमिकामा रहेको बुझ्न सकिन्छ ।
८ वर्ष फिल्म प्रस्तावको ओइरो हुँदा पनि काम नगरेका हमाल ‘नरसिंहा’बाट कमब्याक गर्न कसरी तयार भए भन्ने जिज्ञासा धेरैमा छ । उनी यसको मुख्य कारण कथा र आफ्नो चरित्रलाई मान्छन् । भन्छन्, ‘फिल्म गर्न मुख्य रूपमा तान्ने भनेको कथाले हो । र, त्यो कथामा आफ्नो चरित्रलाई कसरी उभ्याइएको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यो फिल्म गर्न मलाई कथावस्तु र चरित्रले तानेको हो ।’
सुरूमा ‘नरसिंहा’बाट प्रस्ताव आउँदा उनी काम गर्ने सोचमा थिएनन् । कथा र चरित्रबारे सुनेपछि भने उनी कमब्याकका लागि तयार भएका थिए । ‘म सुरूमा त यो फिल्म पनि गर्ने सोचमा थिइनँ । तर, कथा र मेरो चरित्रबारे सुनेपछि चाहिँ म यो किसिमको फिल्मबाट आउँदा राम्रै हुन्छ भन्ने लाग्यो । यो समयमा जुन खालको भूमिकामा म उत्रिन सक्छु, त्यो भूमिका यसमा छ,’ उनले भने ।
नयाँ फिल्ममा काम गर्दा दर्शकले कथा र आफ्नो चरित्रलाई कुन रूपमा लिन्छन् भन्ने खुलदुली सधैं हुने गरेको उनको अनुभव छ । भन्छन्, ‘दर्शकले मेरो चरित्रलाई कसरी लिनुहुन्छ, कथावस्तुमा कसरी आत्मसात् गर्नुहुन्छ भन्ने किसिमको खुलदुली जुनै फिल्म गर्दा पनि हुन्छ । त्यो हुँदाहुँदै पनि ‘नरसिंहा’प्रति दर्शकहरूको अपेक्षालाई पूरा गर्न सकेका छौं भन्ने एक किसिमको विश्वास हामीमा छ ।’