परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘महाराजधिराज’मा नाम चलेका कलाकारहरु जोडिने श्रृंखला रोकिएको छैन । पल शाह हुँदै रमेश उप्रेती र आर्यन सिग्देलपछि अब अभिनेत्री वर्षा सिवाकोटी फिल्ममा अनुबन्धित भएकी छन् । निर्माण पक्षले बिहीबार उनीसँग लिखित सम्झौता गरेको हो । उनको प्रवेशसँगै फिल्ममा कलाकारको ‘लाइनअप’ थप बलियो बनेको छ ।
फिल्ममा तीनजना नायक रहेकाले वर्षाको जोडी कोसँग बाँधिनेछ भन्ने चासो दर्शकमा देखिएको छ । तर, यसबारेमा निर्माण टिमले कुनै जानकारी गराएको छैन । स्रोतका अनुसार फिल्ममा पलको जोडी बनेर वर्षा देखिनेछिन् । यसअघि उनीहरुले ‘वीर विक्रम २’मा काम गरिसकेका छन् । रमेश र आर्यनसँग भने वर्षाको पहिलो सहकार्य हुनेछ ।
जय किशन बस्नेतको पनि अभिनय रहने फिल्मका प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो । फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् ।
गत माघमा पलको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै ‘महाराजधिराज’को निर्माण घोषणा गरिएको थियो । दुई अलग चरित्रमा प्रस्तुत भएका उनी एउटामा नग्न अवस्थामा सिंहासनमा बसेका छन् भने अर्कोमा शिरमा श्रीपेच र हातमा राजदण्डसहित राजर्षी पहिरनमा देखिएका छन् । यसले फिल्ममा उनको चरित्र रोचक रहेको संकेत गर्छ । यो फिल्म आगामी फूलपातीको दिनबाट प्रदर्शन हुनेछ ।