गत फागुनमा प्रदर्शनमा आएको फिल्म ‘आउट ल’बाट एक्सनमा राम्रो सम्भावना देखाएका अभिनेता सुशील श्रेष्ठ एकपटक फेरि एक्सन फिल्ममा देखिने भएका छन् । माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा उनले मुख्य भूमिकामा काम गर्न लागेका हुन् । बुधबार फिल्म सम्झौता गरेका उनले स्क्रिप्ट सुनेपछि आफू निकै उत्साहित भएको बताए ।
यसअघि नै फिल्ममा अभिनेता विराज भट्ट अनुबन्ध भइसकेका छन् । अब दर्शकले दुई पुस्ताका एक्सन नायकलाई एकसाथ पर्दामा हेर्न पाउनेछन् । यो आफैंमा रोचक हुनेछ । ‘राम नाम सत्य’मा विराज र सुशील दुवै एक्सन भूमिकामा प्रस्तुत हुने जनाइएको छ । फिल्मका लागि अब अभिनेत्री र केही कलाकार फाइनल गर्न बाँकी रहेको निर्माण पक्षले बताएको छ ।
निर्देशक चन्दको कम्पनी माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता डा. डी. आर. उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । केही महिनामा फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माण पक्ष छ ।
‘राम नाम सत्य’बाट फिल्म निर्देशनमा डेब्यु गर्न लागेका माइकलले यसअघि दुई दर्जन बढी म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । त्यही अनुभवलाई उनले फिल्म निर्देशनमा प्रयोग गर्न लागेका हुन् । यसपटक दर्शकले एउटा भिन्न र फरक स्वादको फिल्म हेर्न पाउने उनको दाबी छ । यसलाई उनले आफ्नो स्वप्न प्रोजेक्ट मानेका छन् ।