भोलि शुक्रबार अर्थात् बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ऊनको स्वीटर’ले प्रिमियरमा लोभलाग्दो प्रतिक्रिया पाएको छ । बुधवार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न प्रिमियरमा उपस्थित अधिकांशले कथावाचन शैलीको मुक्तकण्ठले प्रशंसा गरे । छायांकन, संगीत, कलाकारहरुको अभिनय जस्ता पक्षको पनि उत्तिकै प्रशंसा भयो ।
प्रिमियरमा पुगेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले फिल्ममा नेपालको संस्कृति र परिवेशलाई सुन्दर ढंगले देखाइएको बताए । उनले नेपालको सांस्कृतिक विविधतालाई उजागर गर्न फिल्मले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । त्यस्तै, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले मन जितेर मात्र प्रेम हुन्छ भन्ने कुरालाई फिल्मले सुन्दर तरिकाले देखाएको भन्दै प्रशंसा गरिन् ।
अभिनेता दयाहाङ राईले फिल्मलाई ‘गजबको कृति’ भन्दै छायांकनसहित सबै पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए । संघीय सांसद शोभिता गौतमले फिल्मको दृश्य, सामाजिक प्रसंग र कथावस्तु मनमोहक लागेको बताइन् । अभिनेत्री केकी अधिकारीले ‘ऊनको स्वीटर’ आफूले अहिलेसम्म हेरेका उम्दा फिल्ममध्ये एक भएको बताउँदै निर्देशक नवीन चौहानको कामप्रति विशेष प्रशंसा गरिन् ।
प्रिमियरमा उपस्थित भएका कलाकारहरुले फेसबुकमा समेत स्टाटस लेख्दै फिल्मको प्रशंसा गरिरहेका छन् । अभिनेत्री रीमा विश्वकर्माले बिहीबार एक पोस्टमार्फत ‘ऊनको स्वीटर’लाई एक दशकयताकै उत्कृष्ट फिल्म भनेकी छन् । उनले लेखेकी छन्, ‘मैले एक दशकयता हेरेका नेपाली फिल्महरुमध्येकै उत्कृष्ट फिल्म हो ‘ऊनको स्वीटर’ । यतिको गुणस्तरिय नेपाली फिल्म विरलै बन्छ ।’
प्रिमियरमा प्राप्त प्रतिक्रियाले फिल्मका कलाकारहरु भावविह्वल देखिएका थिए । अभिनेता विपिन कार्कीले दर्शकको माया देखेर मन भारी भएको बताए । अभिनेत्री मिरुना मगरले दर्शकलाई न्यानो माया दिन सफल भएको प्रतिक्रिया जनाइन् । एलेक्स पारसले पहिलो फिल्मबाट यस्तो प्रतिक्रिया पाउँदा आफू पुलकित भएको बताए । परीक्षा लिम्बूले आफू पात्रमै ढल्किएको अनुभव सुनाइन् ।
नवीन चौहानको निर्देशनमा तयार भएको फिल्मले काफ्ले युवक र गुरुङसेनीबीचको प्रेमकथालाई प्रस्तुत गरेको छ । यसमा विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल लगायतको पनि अभिनय छ । फिल्मको मंगलबार साँझबाट देशभरका हलहरुमा अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । फिल्मको ‘काफ्ले’ गीत यतिबेला चर्चामा छ ।