सन् २०१७ देखि २०२३ सम्म निर्मात्री शर्मिला पाण्डेले आक्रामक रुपमा फिल्म निर्माण गरेकी थिइन् । ६ वर्षको अवधिमा उनले ६ वटा फिल्म बनाइन् । तर, २०८० सालमा रिलिज भएको ‘परस्त्री’ व्यावसायिक रुपमा असफलता भएपछि उनले फिल्म निर्माण गरेकी छैनन् । अब २ वर्षपछि उनी नयाँ फिल्म बनाउने तयारीमा जुटेकी छन् ।
फिल्मलाई शर्मिलाका छोरा सुरज पाण्डेले निर्देशन गर्नेछन् । यसअघि उनले फिल्म ‘परस्त्री’ निर्देशन गरेका थिए । जसमा उनको निर्देशकीय क्षमताको प्रशंसा भएको थियो । हाल अमेरिकामा रहेका उनले त्यहीँ फिल्मको छायांकन गर्ने तयारी गरेका छन् । यतिबेला फिल्मका लागि कलाकार छनोटको प्रक्रिया चलिरहेको छ ।
फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्कालाई अफर गरिएको छ । निर्मात्री पाण्डेले मंगलबार उनीसँग भेट गरेकी थिइन् । प्रदीपसँग भेटपछि उनले भनिन्, ‘प्रदीपजीले ६ महिनापछि समय दिन सक्छु भन्नुभएको छ । केही समयपछि अमेरिका गएर सुरजसँग भेट गर्ने र स्क्रिप्ट पनि सुन्ने कुरा गर्नुभएको छ । हामी फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा नै गर्छौं ।’
शर्मिलाका अनुसार फिल्ममा दुईजना अभिनेता रहनेछन् । त्यसमध्ये एउटामा ‘परस्त्री’का अभिनेता गौरव विष्ट निश्चित भइसकेका छन् भने प्रदीपसँग सम्झौता हुन बाँकी छ । यसअघि प्रदीप र गौरवले ‘पिताम्बर’मा सहकार्य गरेका थिए । नाम तय हुन बाँकी रहेको फिल्मको छायांकन आगामी असोजपछि सुरु गर्ने योजनामा निर्मात्री पाण्डे छिन् ।