मिति : २०८२ वैशाख २५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ऊनको स्वीटर’ र ‘जार’को बुकिङ खुला, कसले कति पाए शो ?

फिल्मीखबर, काठमाडौं, 2025/05/07

unko sweater and jaar

 

बैशाख महिना सुरु भएयता नेपाली फिल्मले आशालाग्दो व्यापार गर्न नसकिरहेको अवस्थामा अब यही शुक्रबार अर्थात् बैशाख २६ गतेबाट दुई आशातीत फिल्म ‘ऊनको स्वीटर’ र ‘जार’ एकसाथ प्रदर्शनमा आउने तयारीमा छन् । फरक कथावस्तुमा बनेका यी दुवै फिल्मको मंगलबार साँझबाट देशभरका प्रायः मल्टीप्लेक्स हलहरूमा शो टाइमसहित अग्रिम टिकट बुकिङ सुरू भइसकेको छ ।

दुई फिल्ममध्ये शो संख्यामा ‘ऊनको स्वीटर’ अगाडि देखिएको छ । यसलाई देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकामा २१ र मोफसलमा २६ गरी कुल ४७ शो दिएको छ । बुधबार दिउँसो २ बजेसम्म फिल्मलाई पहिलो दिनका लागि देशभरका हलमा एक सय हाराहारी शो प्राप्त छ । केही हलमा अझै बुकिङ खुल्न बाँकी रहेकाले शोमा थप वृद्धि हुनसक्छ ।

‘जार’को शो भने ‘ऊनको स्वीटर’भन्दा आधा नै कम छ । क्यूएफएक्स चेनले देशभर गरी फिल्मलाई २३ शो दिएको छ भने पहिलो दिनका लागि देशव्यापी ५० हाराहारी शो उपलब्ध छ । यसको पनि बिहीबार साँझसम्म केही शो बढ्न सक्नेछ । अब उपलब्ध शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती दुवै फिल्मलाई छ । सबैभन्दा महत्त्वपूर्ण चाहिँ दर्शकीय प्रतिक्रिया हुनेछ ।

नवीन चौहानको निर्देशनमा बनेको ‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस लगायतको अभिनय रहेको छ । फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ । ‘जार’ भने साहित्यकार इन्द्रबहादुर राईको बहुचर्चित कथामा आधारित फिल्म हो । फुर्वा छिरिङ लामा निर्देशित फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही र गीताञ्जली थापाको अभिनय छ ।