भारतका नेपाली भाषी साहित्यकार इन्द्रबहादुर राई (आईबी)ले करिब ६५ वर्षअघि लेखेको ‘जार: भएकै एउटा कथा’मा आधारित रहेर बनेको फिल्म ‘जार’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यसमा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा छन् । उनले फिल्म गर्नुभन्दा दुई दशकअघि नै साहित्यकार राईको कथा पढेका थिए । त्यही बेला उनलाई यसमा काम गर्ने रहर जागेको थियो ।
कथा पढेको दुई दशकपछि आफ्नो सपना पूरा भएकोमा सौगात खुसी देखिन्छन् । २७ वर्षअघि गुरुकुलमा नाटक ‘जार’मा अभिनय गर्न नभ्याएको स्मरण गर्दै उनी भन्छन्, ‘म त्यो समयमा एउटा फिल्ममा फाइनल भइसकेको थिएँ । जसले गर्दा नाटक गर्न पाइनँ । तर, नाटक पढ्ने मौका पाएँ । कुनै कुनै कथा, उपन्यासले मान्छेलाई दुई/चार दिनसम्म सुत्ने वातावरण दिँदैन । मलाई त्यस्तै भयो ।’
‘जार’को कथा पढेपछि उनी आफैंले नाटक बनाउने पनि सोचेका थिए । ‘जब यो कथा पढेँ, यसमा म नाटक बनाउँछु भन्ने सोचेको थिएँ । त्यसबेला फिल्मबारे सोच्ने भइसकेको थिइनँ । दुई दशकपछि त्यही फिल्मका लागि अफर आउँदा म सरप्राइज भएँ,’ उनी अगाडि भन्छन्, ‘म जुनसुकै भूमिकाबाट प्रस्ताव आएको भए पनि ‘जार’मा काम गर्थेँ । मुख्य भूमिकामै अफर हुँदा झन् खुसी भएँ ।’
कथा पढेपछि तीन महिनासम्म आफू ‘जार’कै पात्रमा बसेको उनी स्मरण गर्छन् । ‘मैले जब यो कथा पढेँ, म त त्यसभित्रै डुबेँछु,’ सौगात सम्झन्छन्, ‘तीन महिनासम्म त ‘जार’बारे कसैले कुरा गरे मैले त यो खेलिसकेँ त जस्तो लाग्थ्यो । आफूलाई काम गर्न मन लागेको कथामा नाटक वा फिल्म बनाउँ वा काम गरुँ भन्ने रहर भयो भने सोच्दा सोच्दै यो त मैले काम गरिसकेँ त जस्तो हुनेरहेछ ।’
कथा पढेको दुई दशकपछि फिल्मबाट अफर आउनु सुखद् संयोग र आफूलाई भाग्यमानी ठान्छन् सौगात । आफूले सपना देखेको फिल्ममा काम पनि त्यसैगरी गरेको उनले बताए । उनलाई साहित्यकार राईको अर्को एउटा कथामा पनि काम गर्ने ठूलो इच्छा छ । त्यसबारे उनी भन्छन्, ‘कुन भनेर चाहिँ भन्दिनँ । किनकि नभएसम्म हुँदैन, त्यसैले नभन्नु भन्छन् । कुनै दिन काम भयो भने भन्नेछु ।’
फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको फिल्ममा सौगातसहित अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापा लगायतको मुख्य भूमिका छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुले फिल्मलाई खिचेका हुन् ।