हरेक प्रकारका चरित्रलाई विश्वसनीय बनाउने खुबी भएका अभिनेता हुन्, विपिन कार्की । हास्य होस् वा नकारात्मक या पाको उमेरको चरित्र, हरेकमा उनले आफूलाई अब्बल प्रमाणित गरेका छन् । अब यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऊनको स्वीटर’मा उनी दुई दशकअघिको समयमा बाँचेको युवक भएर देखिँदैछन् । उनलाई अधवैंशे चरित्रमा पनि देख्न पाइनेछ ।
विपिन ‘ऊनको स्वीटर’प्रति यति आत्मविश्वासी देखिन्छन् कि यसलाई उनले आफ्नो गर्व गर्न लायक फिल्म नै मानेका छन् । भन्छन्, ‘मैले काम गरेका फिल्महरु भविष्यमा सम्झँदा यो फिल्म अग्रपंक्तिमै पर्नेछ । जसरी म ‘हरि’, ‘नाका’, ‘सेल्फी किंग’ र ‘जात्रा’लाई मेरा गर्व गर्न लायक फिल्म भन्न सक्छु, त्यसको उत्कृष्ट पाँचमा ‘ऊनको स्वीटर’ पनि पर्छ । चाहे फिल्मको नतिजा जेसुकै आओस् ।’
‘ऊनको स्वीटर’मा आफ्नो चरित्रको दुईवटा आयाम रहेको विपिनले स्पष्ट पारेका छन् । ‘एउटा अलि अगाडिको कालखण्डको उमेर हुँदाको चरित्र छ, जसमा म जवान छु । अर्को चाहिँ जीवनलाई बुझिसकेपछिको चरित्र छ । यी दुईवटामा निकै ठूलो अन्तर छ । मान्छेलाई एउटा उमेरमा ठीक लागेको कुरा पछि त्यो गलत लाग्न थाल्छ भनेजस्तै मेरो चरित्रमा पनि त्यही देख्न पाइन्छ,’ उनले भने ।
यसअघि धेरै फिल्ममा संवादबाट भावना व्यक्त गरेका विपिन ‘ऊनको स्वीटर’मा भने कम बोल्ने पात्रको भूमिकामा छन् । यसैले उनी आफ्नो चरित्रमा गहिराइ रहेको मान्छन् । भन्छन्, ‘मेरो चरित्र साधारण छ । धेरै नबोल्ने । मैले संवादमा रहेर धेरै फिल्म गरेको छु । यसमा भने एकदमै कम बोलेको छु । मनको कुरा कसैलाई नभन्ने खालको चरित्र छ । एक हिसाबले यो चरित्रमा गहिराइ छ ।’