गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङसँग अभिनेत्री पूजा शर्माले एकपटक फेरि सहकार्य गर्ने भएकी छन् । गत बुधबार जन्मदिन मनाएकी उनले सोही अवसरमा निर्देशक तामाङको नयाँ फिल्म सम्झौता गरेकी हुन् । नाम तय हुन बाँकी रहेको फिल्ममा उनी एक्सन भूमिकामा देखिनेछिन् । ‘दान्भी’मा पनि उनको एक्सन भूमिका थियो ।
पूजासँग लिखित सम्झौतापछि निर्देशक तामाङले भने, ‘मेरो कथाले पूजालाई नै खोजेका कारण उहाँलाई साइन गराएका हौं । यसपटक अघिल्ला फिल्ममा भएका कमी कमजोरीलाई सुधार्दै काम गर्ने कोसिस गर्नेछु ।’ एक्सन फिल्म बनाउन रुचाउने तामाङले ‘दान्भी’अघि ‘जय शम्भो’ निर्देशन गरेका थिए । तर, दुर्भाग्य ! दुवै फिल्म सफल भएनन् ।
एकपटक फेरि एक्सन भूमिकामा देखिन लागेकी पूजाले कथा र चरित्र राम्रो लागेपछि काम गर्न तयार भएको बताएकी छन् । भन्छिन्, ‘मैले ‘दान्भी’मा गरेको एक्सनलाई दर्शकले रुचाउनुभएको थियो । यसैले मलाई एक्सन फिल्ममा फेरि काम गर्न मन थियो । रुपेशजीले राम्रो कथा लिएर आएपछि साइन गरेकी हुँ ।’
केही दिनमा चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि फिल्मको नाम सार्वजनिक गरिने निर्देशक तामाङले बताए । उनका अनुसार यसपटक फिल्ममा कलाकारको ‘लाइनअप’ले दर्शक सरप्राइज हुनेछन् । पूजाको जोडी एक ‘स्टार’ नायकसँग बाँध्ने उनको योजना छ । यतिबेला सुमन गजमेरले फिल्म लेखिरहेका छन् । आगामी भदौपछि छायांकन सुरु गर्ने तयारी गरिएको छ ।