यही बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जार’को नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडीमा प्रिमियर गरिएको छ । निर्देशक र निर्मातासहित फिल्मका मुख्य अभिनेताद्वय सौगात मल्ल र अनुप विक्रम शाहीको उपस्थितिमा गत बुधबार (बैशाख १७ गते) सिक्किमको गान्तोक र शनिबार सिलिगुडीमा प्रिमियर आयोजना गरिएको हो ।
एक अवार्ड कार्यक्रमका लागि सौगात मुम्बई गएपछि सिलिगुडी प्रिमियरमा अनुप आकर्षणको केन्द्र बनेका थिए । उनीसँग फोटो खिच्न स्थानीय दर्शकबीच हानाथाप चलेको थियो । सिटी सेन्टर मलमा अवस्थित पिभिआर आइनक्स हलमा आयोजित प्रिमियरमा सिलिगुडीमा बसोबास गर्ने फिल्मकर्मीदेखि विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सिक्किममा जस्तै सिलिगुडी प्रिमियरमा पनि फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । साहित्यकार इन्द्रबहादुर राईको कथालाई फिल्मले न्याय गरेको प्रतिक्रिया प्रायःको थियो । निर्देशकीय पक्ष, कलाकारहरुको अभिनय, छायांकन र ब्याकग्राउन्ड म्यूजिकको दर्शकहरुले प्रशंसा गरेका थिए भने भिएफएक्सबाट तयार पारिएको बाघको दृश्यलाई पनि निकै रुचाइयो ।
सिलिगुडीबासी ‘आप्पा’ निर्देशक तथा संगीतकार अनमोल गुरुङले ‘जार’ नेपाली फिल्म क्षेत्रको लागि एउटा नयाँ प्रयोग बनेको बताए । एक प्रतिभावान निर्देशक नेपाली फिल्म उद्योगले पाएको भन्दै उनले निर्देशक फुर्वाछिरिङ लामाको खुलेर तारिफ गरे । फुर्वाको कथावाचन शैलीबाट आफू प्रभावित भएको उनको भनाइ छ ।
भारतमा सम्पन्न प्रिमियरमा पाएको प्रतिक्रियाले फिल्मप्रति दर्शकको आकर्षण बढाउन ठूलो सघाउ पुग्ने विश्वास कार्यकारी निर्माता पेमा रिन्जिङ लेप्चाको छ । ‘जुन मेहनतले हामीले ‘जार’ तयार गरेका छौं, भारतमा सम्पन्न प्रिमियरबाट प्राप्त प्रतिक्रियाले एक प्रकारको सन्तुष्टि मिलेको छ,’ उनले भने, ‘सोही प्रकारको साथ र प्रेम नेपाली दर्शकबाट पनि प्राप्त हुनेमा विश्वस्त छौं ।’
सरवानन इलावार्सुको छायांकन तथा अखिलेश राईले सम्पादन रहेको फिल्ममा सौगात र अनुपसहित फिल्म ‘लायर्स डाइस’बाट भारतीय राष्ट्रिय पुरस्कार जितेकी गीताञ्जली थापाको पनि अभिनय छ । जार संस्कृतिमा आधारित भएर बनेको फिल्मको कार्यकारी निर्माता त्रीलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा हुन् । यसको कथा २२५ वर्ष अगाडिको हो ।