मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘के घर के डेरा २’को ट्रेलरमा घरधनी र डेरावालको कथा

फिल्मीखबर, काठमाडौं, 2025/05/02

KE GHAR KE DERA GHAR NO 2

 

आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘के घर के डेरा : घर नम्बर २’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १९ सेकेण्ड लम्बाइको ट्रेलर मर्मस्पर्शी छ । काठमाडौंमा घर हुने र भाडामा बस्नेको संघर्षको कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । पृष्ठभूमिमा सुनिने काव्यिक ‘न्यारेसन’ ट्रेलरको सशक्त पक्ष छ ।

अभिनेता हरिहर शर्माले छोरा आर्यन सिग्देललाई घर जोगाउन सल्लाह दिएको दृश्यसँगै सुरु भएको ट्रेलरमा हरेक पात्र आ-आफ्नै समस्यामा देखिन्छन् । कसैलाई बैंकको ऋणले थिचेको छ । कसैलाई घर खर्च धान्न हम्मेहम्मे छ । कसैमाथि मिटर-ब्याजको पासो छ । कसैलाई आफ्नो लक्ष्य के हो भन्ने समेत थाहा छैन । फिल्मले सहरी मध्यमवर्गको कथालाई उठाएको ट्रेलरबाट बुझ्न सकिन्छ ।

दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्ममा हरिहर र आर्यनसहित निश्चल बस्नेत, खगेन्द्र लामिछाने, उपासना सिंह ठकुरी, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, सज्जन श्रेष्ठ, गौरव विष्ट, शंकर आचार्य, रुविना घिमिरे (बाल कलाकार) लगायतको अभिनय छ । कलाकारको ‘लाइनअप’ बलियो रहेकाले फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा नकिम उद्दिन, शरद श्रेष्ठ तथा किरण महर्जन निर्माता तथा युवराज कार्की कार्यकारी निर्मातामा छन् । यसमा ‘कर्नाली ब्लुज’, ‘फिरफिरे’, ‘उसले दिएको उमेर’ जस्ता पुस्तकका लेखक बुद्धिसागरको लेखन छ । यो उनले लेखेको पहिलो फिल्म हो । यसमा कृष्णबहादुर थापाको छायांकन छ ।