अहिलेको समयमा फिल्म बनाएर मात्र हुँदैन । प्रभावकारी रुपमा प्रचारप्रसार हुन सकेन भने हलमा फिल्मले दर्शकको अनुहार पनि देख्न पाउँदैन । शुक्रबारबाट प्रदर्शनमा आएको नयाँ फिल्म ‘झिल्को’को हकमा यही भएको छ । पहिलो दिन नै दर्शक अभावले फिल्मको देशभर धेरैजसो शो रद्द भएका छन् । शुक्रबार साँझसम्मका थुप्रै शोमा फिल्मको एउटा टिकट समेत बिक्री भएको छैन ।
‘झिल्को’को प्रचारका लागि निर्माण टिमले दु:खै गरेको थिएन । भगवान् भरोसामा रिलिज भएको यो फिल्मले पहिलो दिन नै दर्शक नपाएपछि अभिनेत्री वर्षा सिवाकोटीले फेसबुकमार्फत निर्माण टिमप्रति असन्तुष्टि पोखेकी छन् । प्रचारप्रसार र बजार व्यवस्थापनमा टिम चुकेको उनको आशय छ । अहिलेको समयमा प्रचारप्रसार बिना कथावस्तु र प्रस्तुति मात्र सशक्त भएर नहुने उनको तर्क छ ।
उनले लेखेकी छन्, ‘विगत १० वर्षदेखि अनवरत नेपाली फिल्ममा आबद्ध छु । एउटा कलाकारको नाताले राम्रो कथावस्तुमा काम गर्ने रहर सबैमा हुन्छ, तर कथावस्तु अनि प्रस्तुति मात्र भएर नहुने रहेछ । फिल्मलाई दर्शकहरुको चासोको विषय बनाउन निर्माण टिमको प्रचारप्रसार र बजार व्यवस्थापन उत्तिकै जरुरी हुन्छ । तोकिएकै समयमा छायांकन अनि प्रदर्शनले पनि ठूलो अर्थ राख्छ ।’
प्रचारप्रसार बिना कलाकार मात्रैले केही गर्न नसक्ने बताउँदै उनले अगाडि भनेकी छन्, ‘कलाकारले आफ्नो मिहिनेत जति नै लगाए पनि अहिलेको जमानामा प्रचारप्रसार बिना कलाकारहरु मात्रैले केही गर्न सक्दैनन् । यो सामान्य कुरा हामी सबैले बुझ्न र बुझाउन जरुरी छ । अनि मात्र फिल्ममा आबद्ध सबैले ‘जस’ पाउँछन् । सधैं नकारात्मक आरोप-प्रत्यारोपले यो क्षेत्र चलायमान हुन सक्दैन ।’
‘झिल्को’ वर्षाको यस वर्षको पहिलो रिलिज फिल्म हो । डिजिटल लतको कथामा बनेको यो फिल्ममा उनले बाल कलाकार आयुषी ढकालकी आमाको भूमिका निभाएकी छन् । अब आगामी भदौमा उनको अर्को फिल्म ‘माग्ने राजा’ प्रदर्शनमा आउँदैछ । चाँडै ‘कार्की साइँला’ फिल्ममा काम गर्ने तयारीमा रहेकी उनको अघिल्लो वर्ष ‘छक्का पञ्जा ५’ सफल भएपछि फिल्ममा माग बढेको छ ।