यही बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ऊनको स्वीटर’को प्रचारप्रसारका लागि निर्माण टिमले सांगीतिक कार्यक्रम आयोजना गरिरहेको छ । त्यसका लागि गायक सुजन चापागाईं र उनको ‘द इन्फिनिटी ब्यान्ड’को सहारा लिइएको छ । पोखरा र काठमाडौंपछि बिहीबार साँझ धरानमा भव्य कार्यक्रम आयोजना गरियो । जहाँ ६ हजारभन्दा बढी दर्शक सहभागी भए ।
धरान रङ्गशालामा आयोजित कार्यक्रमका लागि पाँचथरको फिदिमबाट समेत दर्शकहरु मोटरसाइकल र्यालीमार्फत आएका थिए । उक्त कार्यक्रममा धरानका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघासहित फिल्मका कलाकारहरु विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, परीक्षा लिम्बू, एलेक्स पारस, निर्देशक नवीन चौहान लगायत उपस्थित थिए ।
सुजन चापागाईँ र उनको ब्यान्डले ‘लजाएर एक्लै किन’, ‘गाला पुक्क’, ‘तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘मखमली’ लगायतका गीतहरू प्रस्तुत गरे भने गायिका झुमा लिम्बूले ‘काफ्ले’ गीतमार्फत् दर्शकलाई झुमाइन् । यस कार्यक्रममार्फत संकलित मुनाफा धरान उपमहानगरपालिकाको श्रम संस्कृति अभियानलाई हस्तान्तरण गरिने निर्देशक चौहानले बताए ।
अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको ‘ऊनको स्वीटर’मा सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर लगायतको पनि अभिनय छ । सांगीतिक कम्पनी आर्टमान्डूको निर्माण रहेको फिल्मको ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ गीत लोकप्रिय भइसकेका छन् भने मंगलबार सार्वजनिक ट्रेलर यतिबेला युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा छ ।