मिति : २०८२ वैशाख १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जार’मा आठ मिनेटको बाघका लागि दुई करोड खर्च

फिल्मीखबर, काठमाडौं, 2025/05/01

Jaar-Tiger

 

साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित भएर बनेको फिल्म ‘जार’को ट्रेलरमा अभिनेता सौगात मल्ललाई बगरमा अजंगको बाघले लतारेको दृश्य देख्न सकिन्छ । उक्त बाघ वास्तविक भने होइन । भिएफएक्सबाट बाघ तयार गरिएको हो । तर, ट्रेलर हेर्दा बाघ वास्तविकजस्तो देखिन्छ । फिल्मका लागि बाघ तयार गर्न निर्माताले समय र रकम दुवै पर्याप्त खर्चिएका छन् ।

लेखक राईको कथामा नै बाघले मुख्य पात्रलाई लतारेको प्रशंग उल्लेख भएकाले फिल्ममा त्यो दृश्य अनिवार्य राख्नैपर्ने थियो । नभए कथा पढेका दर्शकले फिल्म हेर्दा अधुरो महसुस गर्ने निश्चित थियो । यसैले निर्देशक फुर्वा छिरिङ लामाले बाघको दृश्य राख्ने निर्णय गरे । त्यसका लागि भिएफएक्सको विकल्प थिएन । तर, बजेट ठूलो लाग्ने भएपछि निर्माण टिम अन्योलमा थियो ।

निर्देशक लामा भन्छन्, ‘सुरुमा त मलाई यो सम्भव छ र भन्ने लागेको थियो । किनकि, कुनै पनि स्टुडियोलाई दिने हो भने यसका लागि कम्तिमा ८ देखि १० करोड रुपैयाँ खर्च लाग्छ । तर, हामीले फ्रिलान्सर भिएफएक्स आर्टिस्टलाई काम गरायौँ ।’ फ्रिलान्सर भिएफएक्स आर्टिस्ट प्रयोग गर्दा पनि दुई करोड रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

करिब एक वर्ष समय लगाएर ३७ जना फ्रिलान्सर भिएफएक्स आर्टिस्टले बाघको दृश्यका लागि काम गरेको उनको भनाइ छ । उनका अनुसार उक्त दृश्यका लागि ‘गेम अफ थ्रोन्स’, ‘मिसन इम्पोसिबल’ जस्ता हलिउड फिल्मका भिएफएक्स आर्टिस्टले काम गरेका हुन् । फिल्ममा बाघको दृश्य मात्र आठ मिनेटको रहेको उनले बताए ।

२२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको ‘जार’मा सौगातसहित अनुप विक्रम शाही, अभिनेत्री गीताञ्जली थापा लगायतको मुख्य भूमिका छ । फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ भने झुमा लिम्बू र गंगा थापाको संगीत छ ।