मिति : २०८२ वैशाख १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘होस्टेल ३’पछि पारसलाई फिल्म अफरको ओइरो

फिल्मीखबर, काठमाडौं, 2025/05/01

CoolBoyyy

 

‘होस्टेल’ फ्रेन्चाइजबाट धेरै कलाकार फिल्म क्षेत्रमा स्थापित भएका छन् । अनमोल केसी, गौरव पहारी, प्रकृति श्रेष्ठ, सुशील श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेन जस्ता कलाकार यही फ्रेन्चाइजका उत्पादन हुन् । गत फागुनमा प्रदर्शन भएको यसको तेस्रो श्रृंखलाबाट पनि केही सम्भावना बोकेका कलाकारहरुको उदय भएको छ । त्यसमध्येका एक हुन्, पारस बम ठुकरी (कुल ब्वाय) ।

‘होस्टेल ३’ पारसका लागि दुवै हातमा लड्डुझैँ भयो । एकातिर फिल्मले व्यावसायिक सफलता हासिल गर्‍यो भने अर्कोतिर उनको अभिनयको पनि राम्रै प्रशंसा भयो । यसपछि त के चाहियो र ! उनलाई फिल्म अफरको ओइरो नै लागेको छ । ‘होस्टेल ३’ रिलिजभन्दा अघि टिकटकर भनेर नाक खुम्च्याएका मेकरहरू समेत अहिले उनलाई लिएर फिल्म बनाउन इच्छुक देखिएका छन् ।

गत सोमबार ‘होस्टेल ३’को ५१औं दिने सेलिब्रेसन कार्यक्रममा उनले आफूलाई दुई दर्जन फिल्मबाट अफर आइसकेको बताए । उनले भने, ‘अहिलेसम्म दुई दर्जन जति फिल्म अफर भए होलान् । तर, सम्झौता गरेको छैन । अहिले आफैंलाई समय दिइरहेको छु ।’ दोस्रो फिल्म आफ्नो लागि निकै चुनौतीपूर्ण हुने भएकाले अहिले त्यसकै लागि आफूलाई तयार गरिरहेको पारसको भनाइ छ ।

‘होस्टेल ३’को सफलतापछि उनलाई १० लाखसम्म पारिश्रमिक अफर भइरहेको चर्चामा छ । तर, उनी अहिलेसम्म कुनै निर्मातासँग पारिश्रमिकको विषयमा कुरा नभएको बताउँछन् । भन्छन्, ‘फिल्म अफर भएको छ तर पारिश्रमिकको कुरा कसैसँग भएको छैन । मेरो लागि स्क्रिप्ट महत्त्वपूर्ण हो । पारिश्रमिक त निर्माताहरुले सोच विचार गरेर दिने कुरा हो । मलाई चाहिँ अहिले काम सिक्नु छ ।’

टिकटक पृष्ठभूमिका पारसको क्रेजका कारण पनि ‘होस्टेल ३’को इनिसियल व्यापार राम्रो हुन पुगेको बताइन्छ । उनलाई हेर्नकै लागि हलमा युवापुस्ता उर्लिएका थिए । पहिलो फिल्मबाट आफ्नो क्रेज र आफूप्रतिको विश्वास जोगाउन सफल भएका उनलाई अब दोस्रो फिल्म चुनौतीपूर्ण रहनेछ । यो भन्दा अतिशयोक्ति नहोला कि दोस्रो फिल्मले नै उनको करिअरको आगामी बाटो तय गर्नेछ ।