मिति : २०८२ वैशाख १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

७ वर्षपछि ‘महाराजधिराज’बाट पुनरागमन गर्दै रमेश उप्रेती

फिल्मीखबर, काठमाडौं, 2025/05/01

ramesh-upreti

 

अभिनेता रमेश उप्रेतीले करिब ७ वर्षपछि फिल्ममा पुनरागमन गर्ने भएका छन् । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्म ‘महाराजधिराज’बाट उनी अभिनयमा फर्किन लागेका हुन् । उनलाई फिल्मको मुख्यमध्ये एक भूमिकामा अनुबन्धित गरिएको निर्माताले जानकारी दिए । बुधबार उनीसँग लिखित सम्झौता भएको हो ।

रमेश पछिल्लो पटक आफैंले निर्माण गरेको फिल्म ‘ऐश्वर्य’मा देखिएका थिए, जुन २०७४ सालमा रिलिज भएको थियो । यसपछि उनले कुनै फिल्ममा काम गरेका छैनन् । गत वर्ष ‘कोतपर्व’ र ‘राजमहल’ गरि दुई फिल्म सम्झौता गरे पनि ती निर्माण हुन सकेनन् । अब दर्शकले उनलाई ‘महाराजधिराज’मा देख्न पाउनेछन् ।

यसपालिको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा पल शाहको पनि मुख्य भूमिका रहनेछ । गत वर्ष उनलाई दुई अलग चरित्रमा प्रस्तुत गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । जहाँ उनी एउटामा न्यूड अवस्थामा सिंहासनमा बसेका छन् भने अर्कोमा शिरमा श्रीपेच र हातमा राजदण्डसहित राजर्षी पहिरनमा देखिएका छन् ।

अभिनेता जय किशन बस्नेतको पनि अभिनय रहने फिल्ममा निर्देशक सेन स्वयंको लेखन छ । उनले यसअघि निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् । आगामी जेठमा फिल्मको छायांकन गर्ने तयारीमा निर्माण टिम छ ।