निर्माणको तयारीमा रहेको फिल्म ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्री मुख्य भूमिकामा देखिने भएका छन् । उनीसँग निर्माताले यसै साता लिखित सम्झौता गरेका हुन् । फिल्ममा उनको जोडी अभिनेत्री दिव्या रायमाझीसँग बाँधिनेछ ।
केही समयदेखि कार्यशालामा रहेको यो फिल्मलाई अभि श्रेष्ठले निर्देशन गर्नेछन् । वन टु थ्री स्टुडियोजको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन बैशाख अन्तिमबाट सुरु गर्ने तयारीमा निर्माण टिम छ । फिल्मलाई श्याम तामाङले छायांकन गर्नेछन् ।
‘माया प्रीति’ नयाँ पुस्ताको प्रेमकथामा आधारित भएर बन्न लागेको रोमान्टिक कमेडी फिल्म हो । यसका निर्माता सुवास चन्द्र प्रधान हुन् भने कार्यकारी निर्मातामा अभिनेत्री निशा अधिकारी र सन्तोष कुमार कार्की रहेका छन् । त्यसैगरी, क्रिएटिभ निर्देशकमा प्रणव जोशी रहनेछन्, जो ‘रेशम फिलिली’का निर्देशक हुन् ।