यस वर्षको पहिलो रिलिज फिल्म हुन्, ‘भूठान’ र ‘खेल’ । गत शुक्रबार (बैशाख १२ गते)बाट प्रदर्शनमा आएका दुवै फिल्मले प्रिमियरमा सुखद् प्रतिक्रिया पाएका थिए । दुवैमा स्थापित कलाकार भएकाले मल्टीप्लेक्सहरूले शो पनि राम्रो उपलब्ध गराए । तर, व्यापार भने दुवै फिल्मको निकै उदेकलाग्दो छ । पहिलो दिनदेखि दुईवटै फिल्मले एउटा शो समेत हाउसफुल देख्न पाएका छैनन् ।
दुवै फिल्मको प्रि-बुकिङ नै ध्वस्त थियो । देशभर गरी दुई फिल्मले प्रि-बुकिङमा दुई सयवटा टिकट पनि बिक्री गर्न सकेका थिएनन् । पहिलो दिन अर्थात् शुक्रबार ‘डोरसेल’ पनि राम्रो हुन सकेन । दुवै फिल्मको शुक्रबारको अकुपेन्सी ५ प्रतिशतभन्दा तल रहेको थियो । शनिबारको विदामा समेत हलमा दर्शकको चर्को खडेरी देखियो । आइतबारदेखि त झन् अकुपेन्सी शून्य बराबर छ ।
प्रदर्शनको पहिलो दिन नै ‘भूठान’ र ‘खेल’का झन्डै ९० प्रतिशत शो दर्शक अभावले रद्द भएका थिए । अहिले पनि यही अवस्था छ । दर्शक नआएपछि केही हलले दुवै फिल्मलाई शनिबार नै उतारेका थिए । कति हलमा भने शो बाँकी भए पनि दर्शक छैनन् । अब कुनै चमत्कार हुने सम्भावना पनि देखिँदैन । यसैले दुवै फिल्ममा भएको करोडौंको लगानी बालुवामा पानी खन्याएसरह भएको छ ।
कतिपयले ‘खेल’ बक्स अफिसमा डुब्नुको मुख्य कारण अभिनेत्री सुरक्षा पन्तको विवादमा परेको एक टेलिभिजन अन्तर्वार्तालाई मानेका छन् । यदि त्यसो हुन्थ्यो भने विवादरहित रहेको ‘भूठान’ ब्लकबस्टर हुनुपर्थ्यो । यसैले ‘खेल’लाई कुनै किसिमको विवादले असर गरेको होइन । कमजोर प्रचार-प्रसार र कथावस्तुले दर्शकलाई आकर्षित गर्न नसक्दा दुवै फिल्मले असफलता बेहोरेका हुन् ।