मिति : २०८२ वैशाख १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पिताम्बर’ले नघायो २ करोड, ‘कर्मा’को अवस्था नाजुक

फिल्मीखबर, काठमाडौं, 2025/04/17

pitambar and karma

 

नेपाली फिल्मबीच बक्स अफिसमा भिडन्त नयाँ होइन । लगभग हरेक हप्ता यो परिदृश्य देखिन्छ । यसले कतिपय फिल्मलाई फाइदा पनि पुर्‍याएको छ । पछिल्लो उदाहरण ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ हुन् । यी दुई फिल्मको व्यापार राम्रो हुनुमा भिडन्तको चर्चा नै प्रमुख मानिन्छ । तर, यसले सधैं फाइदा गर्छ भन्ने छैन । ‘पिताम्बर’ र ‘कर्मा’लाई यसको उदाहरणको रुपमा लिन सकिन्छ ।

नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेबाट एकसाथ प्रदर्शनमा आएका यी दुवै फिल्ममा बलियो ‘स्टारकास्ट’ भएकाले व्यापार आक्रामक हुने अपेक्षा गरिएको थियो । तर, दुवै फिल्मको ओपनिङ नै अपेक्षाकृत भएन । यद्यपि, ‘पिताम्बर’को ओपनिङ तैबिसेक थियो । अब दोस्रो हप्ताको संघारमा आइपुग्दा ‘कर्मा’ व्यापारमा नाजुक देखिएको छ । ‘पिताम्बर’को अवस्था भने सन्तोषजनक छ ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार प्रदर्शनको ६ दिन (बुधबार साँझ)सम्म दुई फिल्मले गरेर कुल २ करोड ४३ लाखको ग्रस व्यापार गरेका छन् । त्यसमा ‘पिताम्बर’को योगदान बढी छ । यसले २ करोड १८ लाखमाथिको ग्रस व्यापार गरेको छ । फिल्मले नयाँ वर्ष अर्थात् बैशाख १ गते राम्रो कमाइ गरेको देखिन्छ । ‘कर्मा’को कलेक्सन भने ६ दिनसम्ममा २५ लाख हाराहारी पुगेको छ ।

‘पिताम्बर’ले ६ दिनमा सुखद् व्यापार गरेको भए पनि ‘स्टारकास्ट’को आधारमा त्यसलाई उत्साहजनक मान्न सकिँदैन । प्रदीप खड्कादेखि सौगात मल्लसम्मको अभिनय रहेको फिल्मले ओपनिङ नै डेढ करोडमाथिको गर्ने प्रक्षेपण थियो । तर, प्रि-बुकिङमै दर्शकको खासै आकर्षण नदेखिँदा ओपनिङ प्रभावित भयो । यद्यपि, शनिबार र नयाँ वर्षमा फिल्मको व्यापार सन्तोषजनक थियो ।

कृषा चौलागाईंको निर्देशनमा तयार भएको ‘पिताम्बर’लाई दर्शकीय प्रतिक्रिया राम्रो छ । फिल्म हेर्ने प्रायःले एक्सन, मेकिङ र ब्याकग्राउन्ड म्यूजिकको तारिफ गरेका छन् । यसैले फिल्मले आगामी दिनमा व्यापारिक गति बढाउन सक्ने विश्वास निर्माण टिममा छ । र, अर्को साता नयाँ नेपाली फिल्म नभएकाले व्यापारमा फाइदा पुग्न सक्छ । अहिले फिल्मको टिम दर्शक भेट धनगडीमा छ ।