.jpg)
नेपालमा क्राइम थ्रिलर जनरामा विरलै फिल्म बन्ने गरेका छन् । धेरैपछि यही जनरामा बनेको फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) भोलि शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । ट्रेलरबाट दर्शकको ध्यान खिच्न सफल देखिएको फिल्मले बुधबार काठमाडौंमा आयोजित प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । प्रिमियरमा पुगेका प्रायःले सस्पेन्स पक्ष र कलाकारको अभिनयको प्रशंसा गरे ।
अभिनेत्री तथा पूर्व मिस नेपाल मलिना जोशी, निर्देशकहरू सवीर श्रेष्ठ, सुवर्ण थापा, लक्ष्मण सुवेदी, सुवास कोइराला, अभिनेताहरू आर्यन अधिकारी, गजित बिष्ट, जयकिशन बस्नेत, निर्माता तथा वितरक गोपालकाजी कायस्थ, कलाकारहरू दीपक आचार्य, बबिन राई (गल्फने बाजे)सहित यतिबेला प्रदर्शनरत फिल्म ‘होस्टेल ३’का निर्देशकदेखि कलाकारसम्म प्रिमियरमा उपस्थित भएका थिए ।
.jpg)
मेलिनाले ‘११:५५’ नेपालमा क्राइम थ्रिलर जनरामा बनेको उत्कृष्ट फिल्म रहेको दाबी गरिन् । उनले भनिन्, ‘जुन जनरामा यो फिल्म बनेको छ, त्यसमा उत्कृष्ट छ । फिल्ममा अभिनय गरेका सबै कलाकारले उत्कृष्ट काम गर्नुभएको छ । अझ विशेष त अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय र पात्रले मेरो मन जित्यो । सस्पेन्स क्राइम थ्रिलर जनराका फिल्म रुचाउने दर्शकलाई यो फिल्म अवश्य मन पर्छ ।’
‘काकु’को रुपमा परिचित कलाकार दीपक आचार्यले पनि फिल्मको प्रशंसामा शब्द खर्चिए । ‘क्राइम थ्रिलर जनरामा नेपालमा खासै फिल्म बन्दैनन् । निर्माताले ठूलो जोखिम मोलेर यो जनराको फिल्म बनाउनुभएको छ । मलाई फिल्म उत्कृष्ट लाग्यो । क्राइम थ्रिलर फिल्म मन पर्नेले एकपटक हेर्नैपर्छ । कलाकारहरु सबैले निकै उत्कृष्ट काम गर्नुभएको छ । कथाले पनि बाँधेर राख्छ,’ उनले भने ।

‘सुनगाभा’ निर्देशक सुवर्ण थापाले एउटै घरभित्र गजबले फिल्म सकाएको भन्दै निर्देशक केशव पाण्डेको प्रशंसा गरे । उनले क्राइम थ्रिलर जनरामा बन्ने फिल्मलाई प्रोत्साहन गर्नुपर्ने बताए । अभिनेता जयकिशन बस्नेतले आफूलाई फिल्म रोचक लागेको प्रतिक्रिया दिए । एउटै घरभित्र खिचिएको भए पनि कलाकारहरूको अभिनय र प्रस्तुतिकरणले फिल्म हेरुन्जेल बाँधेर राख्ने उनको भनाइ छ ।
प्रिमियरमा मिलेको प्रतिक्रियाले फिल्मका शीर्ष कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ र सागर खनाल खुसी देखिएका थिए । सञ्चारकर्मीसँगको कुराकानीमा महेशले सृष्टिको कामको प्रशंसा गरे । ‘फिल्मले एकछिन पनि सोच्न दिएन भन्ने प्रतिक्रिया धेरै मिलेको छ । त्यो कुराले खुसी लागेको छ । फिल्म हेर्दा मलाई सृष्टिको एकदमै राम्रो काम लाग्यो । सृष्टिलाई बधाई छ,’ उनले भने ।

केशव पाण्डेको निर्देशनमा बनेको फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ । श्याम शर्मा र सरोजा शर्माको लगानीमा तयार भएको ‘११:५५’मा प्रद्युमन मिश्रको डिओपी छ भने रामशरण उप्रेतीको सिनेमाटोग्राफी, अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन तथा पासाङ दावा शेर्पाको सम्पादन रहेको छ ।

