मिति : २०८२ वैशाख १९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिल्पालाई छैन नेपाली फिल्मप्रति रुचि

फिल्मीखबर, काठमाडौं, 2025/03/17

Shilpaa Pokhrel

 

विगत ४/५ वर्षमा अभिनेत्री शिल्पा पोखरेलको जीवनमा ठूलो उतारचढाव देखियो । उनले पूर्वपति तथा निर्माता छविराज ओझासँग लामो समय कानुनी लडाइँ लड्नु पर्‍यो । अन्ततः केही महिनाअघि उनीहरुको मुद्धा किनारा लागिसकेको छ । पूर्वपति ओझाबाट सम्पत्तिको रुपमा गुह्येश्वरीको घर लिएर अहिले उनी एक्लो जीवन विताइरहेकी छन् । यो बीचमा उनी ‘ओशो सन्यासी’ पनि बनिन् ।

पूर्वपति ओझासँग कानुनी लडाइँ सुरू भएपछि शिल्पाले कुनै नेपाली फिल्म गरेकी छैनन् । बरु केही भोजपुरी फिल्ममा काम गरिन् । अब उनी नेपाली फिल्म गर्ने मनस्थितिमा देखिएकी छैनन् । हालै अभिनेत्री करिश्मा मानन्धरको घरमा होली मनाउन पुगेकी उनले सञ्चारकर्मीसँगको कुराकानीमा नेपाली फिल्मप्रति रुचि नै नभएकाले प्रस्ताव आउँदा समेत विभिन्न बहाना बनाउने गरेको बताइन् ।

उनले भनिन्, ‘अहिले मलाई फिल्मप्रति रुचि नै छैन । एउटा नेपाली फिल्म त रिलिज हुनै बाँकी छ । दुईवटा भोजपुरी फिल्म समेत रिलिज हुन बाँकी छ । अहिले नेपाली फिल्मतिर चाहिँ रुचि नै छैन भन्दा हुन्छ । साँच्चै रुचि छैन । मनै मरेर आएको जस्तो भैरहेको छ । फिल्मबाट प्रस्ताव आउँदा पनि अर्को प्रोजेक्ट गर्नुछ भनेर टार्छु । मलाई फिल्मबाट टाढै बस्न मन लागेको जस्तो भैरहेको छ ।’ 

शिल्पाले अब नेपाली फिल्ममा काम नगर्ने संकेत समेत गरेकी छन् । उनले भनेकी छन्, ‘फिल्म गर्नलाई पनि प्रोडक्सन हाउस राम्रो हुनुपर्‍यो, राम्रो स्क्रिप्ट लेख्ने मान्छेबाट अफर आउनुपर्‍यो । ‘एकपटक स्क्रिप्ट चाहिँ सुन्नु पर्ला’ भन्ने समेत लागेको छैन । सायद बीचमा मन नभएर पनि होला । र, मैले सोध्न पनि चाहिनँ । अब विस्तारै-विस्तारै मन लाग्छ कि ! तर, अब मन लाग्छ जस्तो चाहिँ लाग्दैन ।’

म्यूजिक भिडियो हुँदै ‘लज्जा’बाट फिल्ममा डेब्यु गरेकी शिल्पाले त्यसपछि ‘हवल्दार सुन्तली’, ‘किस्मत २’, ‘मंगलम’ जस्ता एक दर्जन बढी फिल्ममा काम गरिन् । उनको एउटा फिल्म ‘आर्या’ प्रदर्शन हुनै बाँकी छ, जुन ४/५ वर्षअघि नै निर्माण भएको हो । उनले ‘जय शम्भो’, ‘प्रेम गीत २’ जस्ता भोजपुरी फिल्म समेत गरेकी छन् । बुझिए अनुसार उनी अब भोजपुरी फिल्म मात्र गर्ने योजनामा छिन् ।