प्रायः नेपाली कलाकारको क्रेज हलमा भन्दा महोत्सवमा बढी देखिन्छ । त्यसमा अभिनेता पल शाह पनि पर्छन् । एक वर्ष लामो जेल जीवनपछि महोत्सवमा बाक्लै उपस्थिति जनाइरहेका उनलाई हेर्न दर्शकहरुको भीड थामिनसक्नु हुने गरेको छ । घाटा बेहोरिरहेका महोत्सवले समेत उनका कारण मुनाफा कमाउँछन् । तर, उनलाई लिएर फिल्म बनाएका निर्माता भने करोडौं डुबेर तनावमा छन् ।
जेल जीवनपछि उनले काम गरेका तीनवटा फिल्म ‘मायावी’, ‘पूजार सार्की’ र ‘रावायण’ यस वर्ष प्रदर्शन भइसकेका छन् । त्यसमध्ये ‘पूजार सार्की’ मात्र व्यावसायिक रुपमा सफल भयो । तर, यसको श्रेय उनले पाएनन् । फिल्ममा अभिनेता प्रदीप खड्का हाबी हुँदा सफलताको ‘जस’ पनि उनकै पोल्टामा एकलौटी पर्यो । यद्यपि, यो फिल्मको सफलताले पललाई केही हदसम्म राहत दिएको छ ।
उनले ‘रावायण’बाट भने ठूलो आशा गरेका थिए । तर, प्रदर्शन अगावैदेखि उनको गेटअपका कारण भएको आलोचनाले फिल्मलाई नै डुबाइदियो । यसपछि शिवरात्रिमा उनको ‘मायावी’ रिलिज भयो । उनले महोत्सवमा समेत यो फिल्मको प्रचार गरेका थिए । तर, उनलाई हेर्न महोत्सवमा उर्लिएको भीड हलमा देखिएन । अन्ततः ‘मायावी’ फ्लप भएको छ । फिल्मको कमाइ ७० लाख पनि छैन ।
‘रावायण’ र ‘मायावी’को डुबानपछि पलको क्रेज महोत्सवमा मात्र सीमित रहेको टिप्पणी भइरहेको छ । यो उनी स्वयंका लागि पनि सोचनीय विषय हो । महोत्सवमा उर्लिने भीड हलमा सामान्य पनि नआउनुले उनी कहीँ न कहीँ चुकिरहेको प्रष्ट छ । कतै महोत्सव र म्यूजिक भिडियोमा धेरै देखिँदा उनका फिल्म हेर्न दर्शकले रुचि नदेखाएका त होइनन् ? पलले यसको जवाफ खोज्नुपर्ने देखिन्छ ।