मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हातमा आगो बालेको दृश्यबारे सुशील भन्छन्, ‘हेर्दा सहज, गर्दा गाह्रो’

फिल्मीखबर, काठमाडौं, 2025/03/06

Sushil Shrestha

 

यही फागुन २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘आउट ल : दफा २१९’बाट अभिनेता सुशील श्रेष्ठले ५ वर्षपछि कमब्याक गरेका हुन् । यसमा उनी एक्सन भूमिकामा छन् । उनले ज्यानलाई जोखिममा राखेर समेत फिल्मका लागि दृश्य दिएका छन् । फिल्मका दुई दृश्यमा उनको शरीरको पछाडिको भाग र हातमा आगो बालिएको छ । यस्तो दृश्य उनले फिल्ममा पहिलो पटक दिएका हुन् ।

शरीरमा आगो बोलेको दृश्य फिल्ममा हेर्दा सहज लाग्ने भए पनि गर्न एकदमै गाह्रो रहेको सुशीलको अनुभव छ । उनी भन्छन्, ‘मैले पहिला निखिल उप्रेती, राजेन्द्र खड्गी दाईहरुले हातमा आगो लगाएर स्टन्ट गरेको हेरेको थिएँ । त्यो दृश्य हेर्दा सहज लागेको थियो । तर, आफैंले गर्न एकदमै गाह्रो हुने रहेछ । तर, नयाँ अनुभव थियो । दर्शकहरुलाई पनि पर्दामा हेर्दा मज्जा आउँछ जस्तो लाग्छ ।’

सुशीलले पहिलो फिल्म ‘होस्टेल रिर्टन्स’मा नै एक्सन गरेका थिए । त्यसपछि पनि उनको प्रायः फिल्ममा एक्सन छुटेन । तर, ‘आउट ल’मा भने उनले भिन्न शैलीको एक्सन गरेका छन् । उनको अनुभवमा एक्सन सबैभन्दा कठिन काम हो । उनी भन्छन्, ‘एक्सन गर्न गाह्रो रहेछ । म सुटिङको बेला निकै थकित हुन्थेँ । यसमा एक्सन गर्दा मेरो हातमा चोट समेत लाग्यो, जुन अझै ठिक भएको छैन ।’

फिल्मको ट्रेलर हेर्दा सुशील नकारात्मक भूमिकामा रहेको देखिन्छ । यसबारेमा उनी भन्छन्, ‘कोही पनि मान्छे यत्तिकै नराम्रो हुँदैन । उसलाई परिस्थिति र समयले नकारात्मक बनाउने हो । यसमा मैले निर्वाह गरेको पृथ्वीजंग थापाको क्यारेक्टर कति कुरामा राम्रो र कति कुरामा नराम्रो पनि छ । उसलाई परिस्थितिले कानुनभन्दा बाहिर जाने अवस्था बनाउँछ । फिल्मको कथा यही सारमा छ ।’

सुशीलले ‘आउट ल’ मनोरञ्जनका लागि मात्र नबनाएको समेत बताएका छन् । उनी भन्छन्, ‘देशको कानुनले जब न्याय दिँदैन, जब शक्ति र सत्ताको दममा जे पनि हुन थाल्छ । त्यसपछि एक जनाको व्यक्तिको जन्म हुन्छ र उसले कानुन नै हातमा लिएर न्याय दिन थाल्छ । यो फिल्म हामीले मनोरञ्जनको उद्देश्यले मात्र बनाएका होइनौं । समाजमा सकारात्मक प्रभाव पार्ने प्रयास पनि गरेका छौं ।’