गत बुधबार अर्थात् शिवरात्रिको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘फेरि रेशम फिलिली’को नयाँ गीत ‘कैले घाममा कैले छायाँमा’ सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शनको चौथो दिन सार्वजनिक गरिएको गीतमा कल्याण सिंहको संगीत, हर्क साउदको शब्द रचना तथा सुगम पोखरेलको पार्श्व गायन छ । कथा खुल्ने डरले निर्माण टिमले यो गीत फिल्म रिलिजअघि सार्वजनिक नगरेको हो ।
गीतको भिडियोमा फिल्मका कलाकारहरु विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, महेश त्रिपाठी र प्रकाश दाहाल प्रस्तुत छन् । सुपुष्पाप्रति विनयको प्रेमभावलाई गीतमा देखाइएको छ । गीतले फिल्मको महत्त्वपूर्ण प्लटबारे पनि जानकारी दिन्छ । समलिंगी पुरुषको भूमिकामा रहेका महेशसँग विनयको सम्बन्धलाई भिडियोले उजागर गर्छ ।
व्यापारमा सुधारका लागि संघर्ष गरिरहेको ‘फेरि रेशम फिलिली’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । सकारात्मक ‘वर्ड अफ माउथ’को प्रभाव विस्तारै बक्स अफिसमा देखिन थालेको निर्माता रौनक विक्रम कँडेलले जानकारी दिए । उनका अनुसार शनिबार देशभर फिल्मले राम्रो अकुपेन्सी हासिल गरेको थियो । अब फिल्मले दर्शकको राम्रो साथ पाउने उनको विश्वास छ ।
निरोज महर्जनको निर्देशन रहेको फिल्ममा नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, रविन्द्र झा, मेक्सम गौडेल लगायतको पनि अभिनय छ । सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा लेखन, दीपक शर्मा, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद र जयन जे वाइवाको संगीत रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ ।