भेट्रान निर्देशक तुलसी घिमिरेले आफ्नो कमब्याक फिल्म ‘पहाड’को छायांकन सुरु गरेका छन् । मंगलबार ऐतिहासिकस्थल गोर्खा दरबार परिसरमा मुहूर्त पूजा गरेपछि फिल्मका मुख्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र अभिनेत्री पञ्चमी घिमिरेको पहिलो सट लिइएको थियो । पञ्चमी निर्देशक घिमिरेकी कान्छी छोरी हुन् । उनले यही फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।
युवा जनशक्ति विदेश पलायन हुँदा रितिँदै गएको पहाडी भूगोल र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यालाई फिल्मले कथावस्तु बनाएको निर्देशक घिमिरेले बताए । अहिलेको समाजको तीतो यथार्थलाई फिल्ममार्फत दर्शकसमक्ष पुर्याउन लागिएको उनको भनाइ छ । उनले भने, ‘फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ ।’
ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायांकन गरिरहेका छन् । भारतमा फिल्म, वेब सिरिज तथा टेलिफिल्म समेत छायांकन गरिसकेका छायाँकार प्रधानले यसअघि निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’मा सहकार्य गरेका थिए । उनी तीस वर्षपछि नेपाली फिल्म छायांकन गर्न नेपाल आएका हुन् ।
गोर्खा आसपासमा २५ दिन र भारतमा १५ दिन छायांकन हुने फिल्ममा विपिन कार्की, सुनिल थापा, प्रियंका कार्की लगायतको पनि अभिनय रहनेछ । उनीहरुले केही दिनमा सुटिङ सेट ज्वाइन गर्नेछन् । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह-निर्माता रहेको फिल्ममा रञ्जित गजमेरले सङ्गीत दिएका छन् । क्रिएटिभ निर्देशकमा भारती घिमिरे छिन् । उनी निर्देशक घिमिरेकी श्रीमती हुन् ।