नेपाली फिल्म क्षेत्रमा फिल्म रिलिजभन्दा अगावै सिक्वेल घोषणा गर्ने एक किसिमको ‘ट्रेन्ड’ नै छ । तर, यसरी घोषणा भएका सिक्वेल बनेको उदाहरण भने कमै भेटिन्छ । हुन त फिल्म सफल भए न बन्ने हो । प्रायः निर्माताले चर्चाका लागि पोस्ट-क्रेडिटमार्फत् सिक्वेल घोषणा गरेको पाइन्छ । जब फिल्म असफल हुन्छ, तब न सिक्वेल निर्माण हुन्छ न ती निर्माताले अरु फिल्म बनाउने हिम्मत गर्छन् ।
फिल्मको बक्स अफिस नतिजा नआउँदै सिक्वेल घोषणा गर्नेमा अब ‘एक्टर : टेक वन’ पनि थपिएको छ । यही माघ १६ गते (शहीद दिवसको दिन)बाट प्रदर्शन हुन लागेको फिल्मको पोस्ट-क्रेडिटमार्फत् सिक्वेल घोषणा गरिएको हो । सिक्वेलको नाम ‘एक्टर : टेक टू’ हुनेछ । फिल्मलाई जुन हिसाबले टुंग्याइएको छ, त्यो हेर्दा अभिनेता प्रदीप खड्कासहित प्रायः सबै कलाकार दोहोरिने देखिन्छ ।
सोमबार साँझ भक्तपुरको राधे राधेस्थित क्यूएफएक्स चेनको हलमा फिल्मको प्रिमियरमा राखिएको थियो । जहाँ फिल्मकर्मीहरुको उल्लेख्य उपस्थिति थियो । प्रिमियरमा फिल्मले प्रतिक्रिया पनि राम्रो प्राप्त गर्यो । कलाकारको अभिनय, कथावस्तु, ट्वीस्ट एन्ड टर्न, ब्याकग्राउन्ड स्कोरको बढी प्रशंसा भयो । यही फिल्मबाट डेब्यु गरेका निर्देशक राजन भुसालको कामको पनि धेरैले तारिफ गरे ।
झकिझकाउ देखिएको प्रिमियरमा अभिनेत्रीहरु आना शर्मा, दिव्या रायमाझी, उषा रजक, अभिनेताहरु प्रदीप खड्का, राजबल्लभ कोइराला, दिव्य देव मुख्य आकर्षण बनेका थिए । प्रदीप र राजबल्लभ सुटबुटमा ठाटिएर पुगेका थिए भने आना, दिव्या र उषा बोल्ड पहिरनमा देखिएका थिए । थमन कुमार भण्डारीको निर्माण रहेको फिल्मले ‘स्टार’ बन्न एक पात्रले गर्ने संघर्षको कथा भन्छ ।