यही माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको जीवन सेञ्चुरी निर्देशित फिल्म ‘जुना’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट लामो ट्रेलरले एक बालिकालाई पछ्याएको छ, जसको परिवारले जबर्जस्ती बाल विवाह गरिदिन्छन् । यसपछि उनले श्रीमानको घरमा भोग्नुपरेको हिंसा र यातनालाई ट्रेलरमा मर्मस्पर्शी रुपमा देखाइएको छ ।
सार्वजनिक ट्रेलरमा फिल्मकी मुख्य पात्र अस्मिता ढकालको अभिनय सशक्त देखिन्छ । भावुक दृश्यमा उनको मनछुने अभिनय छ । ट्रेलर हेर्दा फिल्मले ५० वर्षअघिको नेपालको ग्रामीण जीवन र त्यसबेलाको कुरिती एवं कुसंस्कारलाई मुख्य कथावस्तु बनाएको प्रष्ट हुन्छ । यो फिल्मले विभिन्न ठाउँमा भएको च्यारिटी शोमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।
बाल विवाह र महिला हिंसाविरुद्धको कथामा बनेको फिल्ममा अस्मितासहित कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, इन्द्र बिके, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, केशव अधिकारी लगायतको अभिनय रहेको छ । गोदावारी फिल्म्स प्रोडक्सन एन्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन् ।
वर्षौंदेखि नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको निर्देशक सेञ्चुरीको भनाइ छ । यो फिल्ममा राजबहादुर सानेको कथा लेखन, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत तथा रामेश्वर हुमागाईंको डीओपी छ ।