‘एक्टर’ नाममा दुईवटा फिल्म निर्माण भएपछि उत्पन्न विवाद अदालतसम्म पुगेको छ । गत माघ ४ गते प्रदर्शित फिल्म ‘एक्टर’का निर्माताले आइतबार जिल्ला अदालत काठमाडौंमा अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर : टेक वन’को रिलिज रोक्का गरेर क्षतिपूर्ति दिन माग गर्दै रिट दायर गरेका छन् । माघ १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।
अदालतमा परेको रिट निवेदनका कारण ‘एक्टर : टेक वन’को रिलिज अन्योल रहँदा काठमाडौंसहितका मल्टीप्लेक्सहरुले भने फिल्मको बुकिङ खुला गरेका छन् । फिल्मलाई राम्रो शो संख्या प्राप्त भएको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र फिल्मलाई काठमाडौं उपत्यकामा २९ र उपत्यकाबाहिर २७ गरी कूल ५६ शो दिएको छ ।
त्यस्तै, आइएनआइ सिनेमाजले तीन स्टेशनमा गरी १५ शो र वन् सिनेमाजले दुई स्टेशनमा गरी ९ शो दिएका छन् भने काठमाडौं उपत्यकाका एफक्यूब, सिडिसी, सिके सिनेमाज्, कीर्तिपुर सिनेप्लेक्स र विएसआर मुभिजले समान ४/४ शो, रञ्जना सिनेप्लेक्स र विश्वज्योति सिनेप्लेक्सले समान ५/५ शो बाँडेका छन् । फिल्मले देशभर डेढ सयभन्दा बढी शो पाएको जनाइएको छ ।
जिल्ला अदालत काठमाडौंले मंगलबार फिल्मको रिलिज रोक्न आदेश दिएको खण्डमा मल्टीप्लेक्सहरुले बिक्री भइसकेको टिकट सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्नेछ । यसैले केही हलहरु पर्ख र हेरको अवस्थामा देखिएका छन् । अर्थात् बुकिङ खुलाएका छैनन् । यद्यपि, धेरैजसो मल्टीप्लेक्सहरुले अदालतको आदेश नआउँदै टिकट बिक्री गर्न थालिसकेका छन् ।
बलियो ‘स्टारकास्ट’ र गीत तथा ट्रेलरका कारण चर्चामा रहेको ‘एक्टर : टेक वन’ले सुखद् व्यापार गर्ने अपेक्षा गरिएको छ । राजन भुसालको निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी, सुशील सिटौला, निश्चल बस्नेत लगायतको अभिनय छ । यही फिल्मबाट राजबल्लभले १० वर्षपछि कमब्याक गरेका हुन् भने दिव्याको यो डेब्यु फिल्म हो ।