आगामी माघ २५ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘सारंग’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । पारिवारिक कलहले बच्चामा पर्ने मनोवैज्ञानिक असर र धनी-गरिबबीचको खाडललाई बच्चाहरुको सम्बन्धमार्फत् पेश गरिएको छ । टिजरअनुसार फिल्ममा अभिनेत्री ऋचा शर्माले आमाको भूमिका निर्वाह गरेकी छन् ।
कोरियोग्राफरको रुपमा परिचित प्रशान्त तामाङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा ऋचासहित उत्पल झा, सुरज तमु, समीरमणि दीक्षित, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ, बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्की लगायतको अभिनय छ ।
दर्शन बुद्ध फिल्म्सको प्रस्तुतिमा बनेको ‘सारंग’को निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सह-निर्माता रहेको फिल्ममा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी, गोपाल रायको डिओपी र मित्र डि गुरुङको सम्पादन छ । फिल्मले बाल मनोविज्ञान र धनी-गरिबबीचको खाडलको कथा देखाउने निर्देशक तामाङको भनाइ छ ।