शेर्पा समुदायको संस्कृति र परम्परामा आधारित भएर बनेको फिल्म ‘कार्साङ’ यही शुक्रबार (पुष २६ गते)बाट प्रदर्शनमा आउँदैछ । मल्टीप्लेक्सहरुमा बुकिङ खुला भइसकेको फिल्मले मंसिरयता सुस्ताएको बजारलाई चलायमान बनाउने ठूलो अपेक्षा गरिएको छ । यसैले फिल्मप्रति धेरैमा चासो देखिएको छ । बुधबार प्रिमियरमा प्राप्त प्रतिक्रियाले फिल्म हेर्न दर्शकलाई अधैर्य बनाउन सक्छ ।
काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजलाई गुम्बाजसरी ध्वजाले सजाएर शेर्पा समुदायको परम्परागत बाजागाजाको विशेष प्रस्तुतिसहित आयोजना गरिएको प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको छ । प्रिमियरमा उपस्थित प्रायःले मौलिक फिल्म भन्दै प्रशंसा गरेका थिए । जितु नेपाल र दीया मास्केको केमेस्ट्रीको सबैभन्दा बढी प्रशंसा भएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डिसीले ‘कार्साङ’ यथार्थपरक फिल्म रहेको बताए । उनले भने, ‘यो फिल्म यथार्थपरक छ । सबै फिल्मको आ-आफ्नो जनरा हुन्छ । ‘कार्साङ’को जुन जनरा छ, त्यसमा राम्रोसँग चरित्र निर्माण गरिएको छ । र, गहिराइमा गएर कथा भनिएको छ । त्यो हिसाबले फिल्म एकदमै राम्रो छ ।’
हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले भने जितु नेपालको बढी प्रशंसा गरे । ‘जितु दाई एकदमै फरक देखिनुभएको रहेछ । क्यारेक्टर गजबकै बनाउनुभएको रहेछ,’ उनले भने, ‘हामीले सँगै धेरै काम गर्यौं तर उहाँलाई यस्तो फरक चरित्रमा पहिलो पटक नै देखेको हुँ । मलाई उहाँको क्यारेक्टर र अभिनय राम्रो लाग्यो । फिल्मको अन्तिमसम्म पुग्दा त झन् अचम्मै परिवर्तन देखिन्छ ।’
निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले शेर्पा समुदायको संस्कृतिलाई फिल्मले जीवन्त रुपमा प्रस्तुत गरेको धारणा व्यक्त गरिन् । उनले पनि जितुको प्रशंसा गर्न छुटाइनन् । ‘जितुको क्यारेक्टर एकदमै रमाइलो छ । र, फरक पनि देखिएको छ,’ उनले भनिन् । केही कुरासँग लगाव र आत्मीयता कस्तो हुन्छ भन्ने पनि फिल्मले महसुस गराएको उनको भनाइ थियो ।
चर्चित पत्रकार टीकाराम यात्रीले ‘कार्साङ’लाई समाजको विविधतालाई बुझ्ने आँखीझ्यालको रुपमा परिभाषित गरे । ‘फिल्म भनेको २ घण्टासम्म मनोरञ्जनको विषय मात्र रहेन । फिल्म नेपाली समाजको विविधतालाई बुझ्ने एउटा आँखीझ्याल पनि बन्न सक्छ भन्ने कुरा ‘कार्साङ’ले प्रमाणित गरेको छ । यसमा शेर्पा समुदायको संस्कृतिलाई सुन्दर ढंगले देखाइएको छ,’ उनले भने ।
प्रिमियरमा निर्देशकहरु दीपेन्द्र के. खनाल, अशोक शर्मा, कलाकारहरु अनुप बराल, किरण केसी, गायक कमल खत्रीलगायतको पनि उपस्थिति थियो । प्रिमियरमा फिल्मका मुख्य अभिनेत्रीद्वय दीया मास्के र सिर्जना निङलेखु शेर्पा पहिरनमा सजिएर पुगेका थिए भने जितु नेपाल सुटबुटमा ठाटिएका थिए । अभिनेता दयाहाङ राई काठमाडौंबाहिर भएकाले प्रिमियरमा उपस्थित हुन सकेनन् ।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गरेको छ । फिल्ममा दयाहाङ झाँक्रीको भूमिकामा छन् । उनी पहिलो पटक यसप्रकारको भूमिकामा देखिएका हुन् । बुद्धि तामाङ, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको पनि अभिनय रहेको फिल्मका निर्माता तथा छायाँकार भने पुरुषोत्तम प्रधान हुन् ।