अभिनेता रमित ढुंगानाले देशका शीर्षस्थ नेताहरूलाई अभिनय गराएर तयार पारेको फिल्म हो, ‘नमेटिने घाउ’ । यसमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीले अभिनय गरेका छन् । उनीहरुको फिल्ममा लामो दृश्य छैन । ज्यादामा एक मिनेटको छ । तर, पोस्टरमा नेताहरुलाई ‘हिरो’ जसरी प्रस्तुत गरिएको छ ।
अहिलेसम्म सार्वजनिक भएका फिल्मको चारवटा पोस्टरमा मुख्य कलाकारहरू सहायक जस्ता देखिन्छन् । नेताहरूको तस्वीर भने बडेमानको छ । यस्तो लाग्छ, फिल्म नै नेताहरूले धानेका हुन् र चलाउने पनि उनीहरूले नै हुन् । फिल्म बोकेका कलाकारभन्दा नेताहरूमा रमितको भरोसा अलि बढी नै देखिएको छ । तर, पोस्टर नेतामय भएपनि प्रचारमा उनीहरूले बेवास्ता गरिरहेका छन् ।
फिल्ममा अभिनय गरेका सांसद शाहीबाहेक अहिलेसम्म अरु नेताले न पोस्टर न ट्रेलर सामाजिक सञ्जालमा राखेका छन् । जबकि, प्रधानमन्त्री ओलीले अन्य फिल्मको पोस्टर र गीत अक्सर फेसबुकमा सेअर गरेर शुभकामना दिइरहेका हुन्छन् । उनको स्टाटसले नै एकखालको चर्चा गराउँछ । तर, उनले आफ्नै अभिनय रहेको फिल्मको ट्रेलर त परै जाओस्, पोस्टर समेत सेअर गरेका छैनन् ।
पूर्व प्रधानमन्त्री नेपाल र पूर्व मन्त्री पौडेलले पनि ट्रेलर र पोस्टर सामाजिक सञ्जालमा राखेका छैनन् । यो हेर्दा रमितले नेताहरूलाई काखी च्यापेर हिँड्नु व्यर्थ बनेको देखिन्छ । उता युट्युबमा ट्रेलरलाई नेताहरुको अभिनयका कारण दर्शकहरूले तालीभन्दा ज्यादा गाली गरिरहेका छन् । र, फिल्मको प्रचार पनि सुस्त छ । यो अवस्थामा फिल्म चलाउन रमितलाई ठूलै संघर्ष गर्नुपर्ने देखिएको छ ।