(1).jpg)
बुद्ध जयन्तीको दिन पारेर आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको अभिनेत्री पूजा शर्मा स्टारर फिल्म ‘दान्भी’ले अन्ततः मैदान छाडेको छ । फिल्मलाई पूर्वघोषित मितिमा रिलिज नगर्ने निर्णयमा निर्माण टिम पुगेको हो । प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघसँगको छलफलपछि निर्माताले फिल्मलाई जेठ १० मा प्रदर्शन नगर्ने निर्णय गरेका हुन् ।
अभिनेता अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’सँग भिड्ने गरी ‘दान्भी’ले प्रदर्शन मिति घोषणा गरेको थियो । तर, जेठ १० मा अर्को फिल्म ‘पूजार सार्की’ पनि आउने भएपछि साँढेको जुधाइमा बाच्छाको मिचाइ हुने डरले फिल्मको रिलिज पोस्टपोन्ड गरिएको देखिन्छ । यद्यपि, निर्माताले यसलाई मेलमिलाप भनेका छन् । अब जेठ १० मा ‘पूजार सार्की’ र ‘फर्की फर्की’ मात्र रिलिज हुनेछन् ।
सोमबार पूजाको जन्मदिनको अवसर पारेर ‘दान्भी’को नयाँ प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ । आगामी असार ७ गते फिल्म प्रदर्शन हुने चर्चा छ । फिल्मको रिलिज सरेपछि पूजाले फेसबुकमा लेखेकी छन्, ‘एकसाथ तीन फिल्म प्रदर्शन हुन उपयुक्त नहुने ठानेर ‘दान्भी’लाई केही हप्ता पछि सार्ने निर्णय गरेका छौं ।’ उनले जेठ १० गते रिलिज हुन लागेका दुई फिल्मलाई सफलताको शुभकामना पनि दिएकी छन् ।
‘दान्भी’मा पूजा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत भएकी छन् । रुपेश तामाङको निर्देशन रहेको फिल्ममा अभिनेता कुन्साङ बोमजम र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्मातामा छन् । सह-निर्माता भने कमला लिम्बू, पन्चबहादुर तामाङ र आदर्श पौडेल हुन् ।

