यस वर्ष अभिनेत्री ऋचा शर्माले लगालग फिल्ममा काम गरिरहेकी छन् । दशैंअघि निर्देशक दीपक रौनियारको फिल्म ‘राजागञ्ज’को छायांकन पूरा गरेकी उनले त्यसपछि निर्देशक रामबाबु गुरुङको फिल्म ‘डिग्री माइला’मा काम गरेकी थिइन् । अब उनी निर्देशक दीपेन्द्र के. खनालको फिल्म ‘मेयर’मा आबद्ध भएकी छन् । मंगलबारबाट ऋचा छायांकनमा जोडिएको निर्देशक खनालले बताए ।
फिल्ममा उनको भूमिकाबारे खुलाइएको छैन । छायांकन सेटबाट प्राप्त तस्वीरमा भने ऋचालाई कालो रंगको कुर्था-सुरुवालमा देख्न सकिन्छ । जसले उनी स्थानीय युवतीको भूमिकामा देखिन लागेको संकेत गर्छ । पहिलोपटक ऋचाले निर्देशक खनालसँग सहकार्य गरेकी हुन् । ‘मेयर’को मुख्य अभिनेत्रीमा वर्षा राउत छिन् । उनी अभिनेता खगेन्द्र लामिछानेको श्रीमतीको भूमिकामा देखिँदैछिन् ।
सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन संघर्षमा आधारित रहेको ‘मेयर’मा खगेन्द्रले मेयर थापाको भूमिका निर्वाह गरेका छन् । फिल्ममा हरिहर शर्मा, अनुप बराल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, रवीन्द्र झा, दिव्यदेव, आशान्त शर्मा, सञ्जोग रसाइली लगायतको पनि अभिनय रहनेछ । एक हप्तादेखि सर्लाहीको बागमतीमा फिल्मको छायांकन भइरहेको छ ।
यो फिल्मबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । निर्देशक खनालकी छोरी श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे निर्माता रहेको फिल्मका कार्यकारी निर्माता भने निर्देशक खनाल स्वयं हुन् । पटकथा प्रडक्शनको निर्माण रहेको फिल्ममा महेश दवाडीको पटकथा लेखन छ भने कृष्ण बहादुर थापा छायाँकार हुन् । निर्देशक खनालले फिल्मलाई ठूलो क्यानभासमा तयार गरिरहेका छन् ।