भारतीय बक्स अफिसमा यो साता सन् २०२३ कै सबैभन्दा बढी भिडन्त भयो । बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘डंकी’ र साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘सलार’ एक दिनको अन्तरमा रिलिज भएका थिए । व्यापारिक हिसाबले ‘सलार’ अगाडि देखिएको छ । तथापि, ‘डंकी’ पनि बक्स अफिसमा कमजोर छैन । तर, दुवै फिल्मलाई भिडन्त भारी परेको प्रष्ट देखिन्छ ।
‘सलार’ले प्रदर्शनको ६ दिनमा ‘वर्ल्डवाइड’ ५ सय करोडको आँकडा नघाएको रिपोर्ट प्राप्त छ भने भारतमा ३ सय करोड हाराहारी पुगेको छ । जबकि, फिल्मले पहिलो हप्ता भारतमा मात्रै ४ सय करोड कमाउने आँकलन गरिएको थियो । तर, फिल्मलाई मिश्रित प्रतिक्रिया प्राप्त हुँदा विकेन्डबाट कलेक्सनमा भारी गिरावट आइरहेको छ । भारतमा फिल्मले साढे ३ सय करोड नघाउन सक्नेछ ।
‘डंकी’ले भने भारतमा डेढ सय करोडको आँकडा नघाएको जनाइएको छ । फिल्मको विश्वव्यापी कलेक्सन ३ सय १० करोड पुगेको छ । फिल्मलाई मध्यम प्रतिक्रिया मिलेकाले कमाईमा उछाल आउन सकेको छैन । त्यसमाथि ‘सलार’सँगको प्रतिस्पर्धाले व्यापारमा ठूलो अवरोध खडा गरेको छ । भारतमा फिल्मको ‘लाइफटाइम कलेक्सन’ २ सय करोड हाराहारी पुग्न सक्ने प्रक्षेपण गरिएको छ ।
ट्रेड एनालिस्ट सुमित कडेल दुवै फिल्मको व्यापारमा भिडन्तले असर गरेको तर्क गर्छन् । उनी भन्छन्, ‘दुवै फिल्मले एक-अर्कालाई ठूलो नोक्सान पुर्याएका छन् । हामी यो भन्न सक्छौं कि ‘डंकी’लाई ज्यादा नोकसान भएको छ । ठूला शहरमा ‘डंकी’को कलेक्सन ठीक छ तर साना शहरहरुमा यो ‘सलार’भन्दा पछाडि छ ।’ हिन्दी भेगमा ‘सलार’लाई ‘डंकी’भन्दा निकै कम स्क्रिन मिलेको थियो ।