राष्ट्रिय अवार्ड विजेता दिनेश राउत अहिले फिल्म ‘पुजार सार्की’को तयारीमा छन् । आगामी माघबाट पश्चिम नेपालमा छायांकन गर्न लागिएको फिल्मको मुख्य भूमिकामा अभिनेताद्वय आर्यन सिग्देल र प्रदीप खड्काका नाम चर्चामा छ । तर, दुवै निश्चित भैसकेका छैनन् । वास्तविक कथा तथा पात्रबाट प्रभावित भएर बन्न लागेको फिल्मका लागि मुख्य भूमिकामा अभिनेत्रीको खोजी गरिएको छ ।
निर्माण टिमले मंगलबार एक पोस्टरमार्फत् मंगोलिन लुक्सकी २०-२२ वर्ष उमेरकी अभिनेत्रीका लागि अडिसन आह्वान गरेको हो । इच्छुकले [email protected] मा सम्पर्क गर्न आह्वान गरिएको छ । मंसिरभित्र अभिनेत्रीको टुंगो लगाउने तयारीमा निर्माण टिम छ । एउटा कम्युनिष्ट मान्छेले जातिय समानताको लागि कसरी आफूलाई सार्कीमा बदल्छ भन्ने कथामा फिल्म बन्नेछ ।
संगीतकार सुभाष भुषालको निर्माण रहने फिल्मका लेखक विकास सुवेदी हुन् । सुवेदीसँग निर्देशक राउतको यसअघि ‘प्रकाश’मा सहकार्य भएको थियो । ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता लभस्टोरी फिल्मबाट निर्देशनमा आफू स्थापित गरेका दिनेश ‘प्रसाद’देखि सामाजिक कथा भन्न उद्देलित देखिएका छन् । र, रोचक कुरा के छ भने ‘प्रसाद’देखि उनले ‘प’ शब्दमै फिल्म बनाइरहेका छन् ।