फिल्म ‘रावायण’का निर्देशक सुदर्शन थापाको प्रोडक्सन कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले दिएको आपराधिक विश्वासघातको उजुरीको आधारमा पक्राउ परेका अभिनेता अनमोल केसी आइतबार साँझ हिरासतमुक्त भए । उनलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको हो । उनी रिहा भएलगत्तै निर्देशक थापाले सामाजिक सञ्जालमा आएका अभिव्यक्ति र सञ्चारमाध्यमले आफ्नो छविलाई धमिल्याउन खोजेको बताएका छन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘पछिल्लो समय सामाजिक सञ्जालमा आएका अभिव्यक्ति र सञ्चारमाध्यममा लेखाइएका एकतर्फी समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो डेढ दशक लामो संघर्षपछिको छविलाई सहजै धमिल्याउन खोज्ने कार्यको प्रतिकार गर्न चाहन्छु । चलचित्रको मुख्य पात्रको विना कुनै सहमति पक्कै पनि चलचित्र निर्माणको तयारी मबाट हुन सक्दैन । कागजी सहमति मात्रै हुनुपर्छ भन्ने छैन, व्यवहारिक र दरिलो मोखिक सहमतिमै ‘रावायण’को निर्माण कार्य अगाडि बढेको हो ।’
उनले ‘रावायण’का लागि आफूले लामो समय खर्चिएको र कलाकार तथा प्राविधिकको छनौटमा समेत विशेष ध्यान दिएको जिकिर गरेका छन् । आफूले कुनै पनि प्रोजेक्ट गर्दा आफ्नो टिम र कलाकारलाई काम गर्नका लागि सहज वातावरण निर्माण गरिदिने र अभ्यासका लागि भरपुर समय पनि दिने उनको दाबी छ ।
‘मेरो अहिलेसम्मको व्यावसायिक यात्रामा मैले नयाँ तथा पुराना धेरै कलाकारसँग सहकार्य गरिसकेको छु । कलाकारको व्यावसायिक प्रक्रिया र पाउनु पर्ने पारिश्रमिकको अधिकारका विषयमा म सधैं सचेत रहने गरेको छु । तसर्थ कसैलाई दबाब र अभावमा काम गराउने मेरो मनसाय छैन र मेरो ईमानलाई सुहाउँदैन पनि,’ उनले लेखेका छन् ।
उनले अनमोललाई लक्षित गर्दै मोटो पारिश्रमिक माग गर्नुभन्दा पहिला आफूलाई पूर्णतया तयार गर्न समेत सुझाव दिएका छन् । उनी अगाडि लेख्छन्, ‘मोटो पारिश्रमिकको माग गर्नुभन्दा पहिला आफूलाई पूर्णतया तयार गर्न र तोकिएको समयसीमाभित्र आफूलाई हरेक पक्षबाट तयार गरि निर्माण टिमलाई आफ्नो कारण पर्न सक्ने क्षतिबाट जोगाउन विनम्र अनुरोध गर्दछु ।’ अनमोलले काम गर्न अस्वीकार गरेसँगै ‘रावायण’ निर्माण अनिश्चित बनेको छ ।