शुक्रबार साँझ (असोज १२ गते) पक्राउ गरेका अभिनेता अनमोल केसी हाजिरी जमानीमा हिरासत मुक्त हुने भएका छन् । आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउ परेको दिनदेखि तीन दिन अर्थात् आइतबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर, अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएपछि प्रहरीले बोलाएको बेला हाजिर हुने गरी उनलाई हिरासत मुक्त गर्न लागिएको हो ।
हिरासतबाहिर बस्दा प्रमाण लुकाउने वा नष्ट गर्ने सम्भावना नदेखिएपछि अनमोललाई हाजिरी जमानीमा छाड्न लागिएको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । कानुनी प्रक्रिया पूरा गरेर केहीबेरमा उनी हिरासत मुक्त हुँदैछन् । आपराधिक विश्वासघातको मुद्धामा उनलाई प्रहरीले साँगाबाट पक्राउ गरेको थियो ।
फिल्म ‘रावायण’मा काम गर्ने भनेर १० लाख रुपैयाँ पेस्की रकम लिएको तर पछि विभिन्न बहाना बनाएर काम गर्न नमानेको भन्दै निर्देशक सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले यही असोज ८ गते अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीको आधारमा उनी पक्राउ परेका थिए ।