‘लभ स्टेशन’ फेम्ड अभिनेता प्रकाश शाह विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विधार्थीहलाई लक्षित गरेर स्थापना भएको ग्लोबल डायस्पोरा एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । आइतबार कन्सल्टेन्सी र शाहबीच एक वर्षको लागि सम्झौता भएको हो । यो कन्सल्टेन्सीले जापान, अष्ट्रेलिया, युकेलगायत देशमा अध्ययन गर्न चाहने विधार्थीलाई पठाउँदै आएको छ ।
प्रकाशले अब एक वर्ष यस कन्सल्टेन्सीको बजार प्रवर्द्धन गर्नेछन् । उनले भने, ‘उज्वल भविष्यको कामनासहित वैदेशिक शिक्षाको लागि जान चाहने विधार्थीहरूलाई सहि सल्लाह र मार्गनिर्देश गर्ने मेरो जिम्मेवारी हुनेछ । यो संस्थासँग जोडिन पाउँदा एकदमै खुसी छु ।’ यसअघि दर्जनौं विभिन्न उत्पादनहरुको ‘ब्राण्डिङ’मा आबद्ध भैसकेका उनको कन्सल्टेन्सीको बजार प्रवर्द्धन नयाँ अनुभव हो ।
कन्सल्टेन्सीका सञ्चालक समिति अध्यक्ष एकेन्द्र थापाले नेपाली फिल्मका उदयीमान कलाकारसँग जोडिन पाउनु गर्वको कुरा रहेको बताए । काठमाडौंस्थित पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राहुल रेग्मीले नेपालभित्रका विभिन्न शहरहरुमा शाखा विस्तार गर्ने तयारी भैरहेको र कलाकारसहितको प्रवर्द्धनले कन्सल्टेन्सीलाई थप सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
‘मिस्टर ग्लोबल नेपाल २०१८’का विजेता समेत रहेका अभिनेता शाहले फिल्म ‘जालो’बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए, जुन नेपालकै पहिलो ‘वान सट वान टेक’ फिल्म थियो । उनलाई दर्शकको ठूलो वर्गमा भने ‘लभ स्टेशन’ले चिनायो । यो फिल्ममा उनले नकारात्मक भूमिकामा अभिनय गरेका थिए । त्यसयता शाहले ‘साङ्गलो’, ‘ज्याकपट’ र ‘आर्या’ फिल्ममा अभिनय गरिसकेका छन् ।