यही असोज १२ गते शुक्रबार साँगाबाट आपराधिक विश्वासघातको मुद्धामा पक्राउ परेका अभिनेता अनमोल केसीलाई आइतबार प्रहरीले अनुसन्धानका लागि म्याद लिन जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदैछ । अहिले अनमोल प्रहरीको निगरानीमा महाराजगञ्जस्थित चिरायु अस्पतालमा छन् । पक्राउ परेको साँझ स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाटै उनलाई अदालत लगिँदैछ ।
फिल्म ‘रावायण’मा काम गर्ने भनेर १० लाख रुपैयाँ पेस्की रकम लिएको तर पछि विभिन्न बहाना बनाएर काम गर्न नमानेको भन्दै निर्देशक सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले यही असोज ८ गते अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही आधारमा प्रहरीले अदालतको अनुमतिमा उनलाई पक्राउ गरेको थियो । अनमोलमाथि एक करोड १५ लाखको आर्थिक विश्वासघात गरेको आरोप निर्माण टिमले लगाएको छ ।
तर, प्रहरीले पक्राउ गर्नुभन्दा दुई दिन अगाडि (असोज १० गते बुधबार) अनमोलले उच्च अदालत पाटनबाट ‘स्टे अर्डर’ लिइसकेका थिए । देवानी लेनदेन वा देवानी दायित्वका विषयमा प्रहरीको क्षेत्राधिकार नहुने र यो विषयमा अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्न अदालतले अन्तरिम आदेश जारी गरेको थियो । तर, प्रहरीले आपराधिक विश्वासघातमा परेको जाहेरीको आधारमा अनमोललाई पक्राउ गरेको र यो फौजदारी मुद्धा रहेको दाबी गरेको छ ।
अनमोलका निजी वकिल पर्शुराम कोइरालाले भने उच्च अदालत पाटनबाट ‘स्टे अर्डर’ जारी भैसकेपछि पनि पक्राउ गरेर प्रहरीले शक्तिको दुरुपयोग गरेको बताएका छन् । अदालतबाट जारी भएको अन्तरिम आदेश प्रहरीले हेर्न र सुन्न नै नचाहेको उनको आरोप छ । प्रहरीले अनमोललाई आपराधिक विश्वासघातको मुद्धामा पक्राउ गरेको दाबी गरे पनि त्यो देवानी दायित्वको विषय रहेको उनको जिकिर छ ।
एक टीभी अन्तर्वार्तामा उनले भनेका छन्, ‘अनमोलमाथि आपराधिक विश्वासघात हुँदै होइन । यो देवानी दायित्वको विषय हो । जब उच्च अदालतले स्पष्ट रुपमा देवानी प्रकृतिको मुद्धामा अनमोललाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेपछि प्रहरीले नसुन्ने ? यो त शक्तिको दुरुपयोग हो । अनि, निर्माता/निर्देशकले जसरी पनि सजायसहित क्षतिपूर्तिको माग गर्नुले कता-कता अनमोलसँग रिसइबी साँध्न खोजेको देखिन्छ ।’
‘स्टे अर्डर’का बावजूद पक्राउ गरेकाले भोलिका दिनमा प्रहरी ‘कन्टेम्प्ट अफ कोर्ट’मा जिम्मेवार ठहरिन पनि सक्ने उनको भनाई छ । ‘अदालतको आदेशबारे जानकारी हुँदा-हुँदै पनि पक्राउ गरेको प्रमाणित भयो भने सम्बन्धित प्रहरी कार्यालय र त्यसको प्रमुख जिम्मेवार हुन्छ । किनकि, अदालतले टेकु र मीनभवन प्रहरीलाई विपक्षी बनाएर ‘स्टे अर्डर’ जारी गरेको थियो । तर, यसमा प्रहरीले पेलेर अगाडि बढेको छ,’ उनले भनेका छन् । प्रहरीले ‘स्टे अर्डर’को जानकारी हुँदा-हुँदै पक्राउ गरेको भेटिए आफूहरुले प्रहरी कार्यालयविरुद्ध ‘कन्टेम्प्ट अफ कोर्ट’को मुद्धा चलाउने पनि बताए ।
अनमोलले कहिल्यै निर्माता/निर्देशकलाई फिल्म नगर्ने भनेर नभनेको तर स्क्रिप्ट केही मिलाउन आग्रह गरेको अभिवक्ता कोइरालाले बताएका छन् । ‘स्क्रिप्टमा अलि मिलाउनुपर्छ भनेर अनमोलले आग्रह गर्नुभएको रहेछ । फिल्म गर्दिनँ भन्नुभएको रहेनछ,’ उनले भनेका छन्, ‘उहाँले निर्माण टिमलाई अर्को हिरो लिएर फिल्म बनाउन पनि विकल्प दिनुभएको रहेछ । आफूलाई लिने भए हतार नगर्न भन्नुभएको रहेछ ।’ उनका अनुसार, अनमोलले ‘रावायण’लाई ६/७ महिना पछाडिको समय दिएका थिए ।